
काठमाडौं— गृहमन्त्रालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) काभाईस प्रेसिडेन्ट जोनथन बुक्सबीच भेटवार्ता भएको छ ।
गृहमन्त्रालयमा भएको भेटवार्तामा एमसीसी परियोजनाअन्तर्गत हालका गतिविधिको बारेमा सामान्य छलफल भएको गृहमन्त्रालयका सचिव दिनेश भट्टराईले जानकारी दिए ।
भेटघाटका क्रममा भाइस प्रेसिडेन्ट बुक्सले परियोजनाको अगामिगति विधिका लागि आवश्यक जग्गा प्राप्ति र परियोजनालाई उपलब्ध गराउनु पर्ने सुरक्षा तथा समन्वयका पक्षमा गृहमन्त्रालयको तर्फबाट हुनसक्ने सहयोगका लागि आग्रह गरेका थिए ।
भेटवार्ताबारे जानकारी दिँदै गृहसचिव भट्टराईले भने, ‘प्रधानमन्त्री दाहालसँग एमसीसी परियोजनाको गतिविधिका सम्बन्धमा सामान्य कुराकानीगर्न उहाँ उपस्थितहुनु भएको थियो । भेटवार्ताका क्रममा परियोजनाको अगामी गतिविधि, जग्गा प्राप्ति र परियोजनालाई उपलब्ध गराउनुपर्ने सुरक्षा तथा समन्वयका पक्षमा गृहमन्त्रालयको तर्फबाट हुनसक्ने सहयोगका लागि उहाँले आग्रह गर्नुभएको छ ।’
उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले परियोजना समयमै सम्पन्न गर्न मन्त्रालय र मातहत रहेका जिल्ला प्रशासन कार्यालयबाट पर्याप्त सहयोग हुने विश्वास दिलाएको गृहसचिव भट्टराईले बताए ।













