News Griha :: न्यूजगृह
सांसद गौतम आमरण अनसन बसेको आठौँ दिन टेक्यो, सरकार अझै मुकदर्शक

बर्दिया— बर्दिया जिल्ला क्षेत्र नं. १ का सांसद एवम् पूर्वसिँचाइमन्त्री सञ्जयकुमार गौतम आमरण अनसन बसेको शनिबार आठौँ दिन भएको छ । 

उनी जब्दीघाट पुल निर्माणलगायत बर्दिया जिल्लाका विभिन्न मुद्दाहरू संसदमा उठाउँदा पनि सरकारले सम्बोधन नगरेको कारण अनसनमा बसेका हुन् । 

उनी भत्किएको जब्दीघाटको पुलमुनि बर्दियाका कांग्रेसका नेतासहित अनसन बसेका छन् । तर, अझै पनि सांसद गौतमको मागप्रति सरकार गम्भीर बन्न सकेको छैन । 

आफ्नो पार्टी सत्तामा हुँदाहुँदै आमरण अनसनमा बसेका गौतमले सदनबाट र प्रत्यक्ष भेटेर सरकार समक्ष राखेका मुद्दाहरू सम्बोधन नहुँदा बाध्य भएर आमरण अनसनमा बसेको बताएका छन् । 

गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल भाँचिएको ७ बर्ष बित्दा पनि पुनःनिर्माण हुन नसकेको विषयलाई सांसद गौतमले मुख्य मुद्दा बनाएका छन् । 

sanjaya-gautam-aamaran-ansan-8th-day1684566962.jpg

सांसद गौतमले गत २२ असोजमा भाँचिएको पुलको तीनवटा स्ल्याब बगाएर तल खसालेको छ । स्ल्याबलनदीमा सहज रूपमा पानी बग्न नदिइ बाँधको रूपमा काम गरिरहेको छ । आउँदो वर्षात्को समयमा बर्दियाको सदरमुकाम गुलरिया, बारबर्दिया र मधुवन नगरपालिका डुब्ने खतरा देखिएको छ । बाँधको रूपमा काम गरिरहेको स्ल्याबलाई नष्ट गर्नुपर्ने उनको माग छ । 

योसँगसँगै बर्दिया जिल्लाको नदी नियन्त्रण, राष्ट्रिय गौरवको आयोजना बबई सिँचाइ आयोजनामा पर्याप्त बजेटको सुनिश्चिता, राजापुर सिँचाइ प्रणालीको दोस्रो चरणको सुरुवात, गुलरिया मुर्तिहा भन्सार नाकाको सञ्चालन, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण, भुरीगाउँ तेलपानी सडक निर्माण लगायतका १५ बुँदे माग पनि सांसद गौतमले अघि सारेका छन् । 

२०६५ सालदेखि निर्माण शुरु भएको पुल करिब दश वर्षपछि सम्पन्न भएको थियो । ४२५ मिटर लामो उक्त पुल १६ करोड ६८ लाख रुपैयाँ लागतमा ०७४ सालमा सम्पन्न भएको थियो । पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको बबई नदीको जब्दीघाटको पुल हस्तान्तरण नहुँदै २९ साउन २०७४ मा आएको बाढीले पुलका तीनवटा स्पान भासिएका थियो । गत २२ असोजमा आएको बाढीले १७ वटा स्पानमध्ये पूर्वतर्फको तीनवटा स्ल्याप र स्पान बगाएको थियो ।

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  १३:०२
Weather Update