
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्ष र सत्तापक्षका तीन शीर्ष नेताबीच हुने गरेको भेटवार्ता शरणार्थी प्रकरण सामसुम पार्न बसेको भन्ने आरोप गलत भएको बताएका छन् ।
शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघको आठौँ निर्वाचित कार्यसमितिको पदभार ग्रहण कार्यक्रममा उनले सदनको प्रभावकारी सञ्चालन र देशको हरेक मुद्दामाथि छलफल गर्न एकठाउँमा उभिन पर्ने हुँदा तीन नेताबीच छलफल निरन्तर हुने गरेको जिकिर गरे ।
उनले आफूहरूको भेट शरणार्थी प्रकरणलाई अन्तिम र तार्किक निष्कर्षमा पुर्याउनमा सरकार दृढ रहेको बताए ।
उनले भने ‘बाहिर बजारमा र मिडियामा विभिन्न प्रचारप्रसार आइरहेका छन् । तपाईंहरू दोधारमा नबस्नु होला सरकार र पार्टी दृढ छ । यसलाई अन्तिम र तार्किक निष्कर्षमा पुर्याएरै छाडिन्छ । यो विश्वास दिलाउन चाहन्छु ।’
आफूहरू सदनलाई कसरी प्रभावकारी बनाउने, सदनभित्र सत्तापक्ष र प्रतिपक्षको बीचमा समझदारी कसरी गर्ने भन्ने बारेमा र देशको यो अवस्थामा परिवर्तनको रक्षाको लागि एकठाउँमा उभिन पर्ने हुनसक्छ भन्दै छलफलमा जुट्ने गरेको उनको भनाइ छ ।
प्रधानमन्त्री दाहालले भुटानी शरणार्थी प्रकरणलाई मात्र नभएर सुशासनको दृष्टिकोणले आवश्यक पर्ने सबै कुरामा पहल गर्ने बताए ।













