
काठमाडौं— २० औं शताब्दीमा उथलपुथल ल्याएका कार्ल मार्क्सको बारेमा नसुन्ने त कमै होलान् ।
कागजमा सीमित उनको साम्यवादी चिन्तनलाई रुसमा लेनिनले व्यवहारमा लागु गरे । चीनमा लागु भएको साम्यवाद त झन् एक कदम अगाडि निस्क्यो, जसलाई माओत्सेतुङले नेतृत्व गरे ।
नेपालमा पनि तिनै मार्क्सको सिद्धान्तबाट प्रेरित भएर साम्यवाद भित्रियो । हाल केपी शर्मा ओलीले कमान्ड सम्हालिरहेको नेकपा एमाले रुसी साम्यवादबाट प्रेरित भएर स्थापित भएको थियो भने पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकाे पार्टी माओवादी चीनको माओवादबाट प्रेरित रह्यो । अर्थतन्त्रमा उलटपुलट ल्याउने दास क्यापिटल, कम्युनिस्ट घोषणापत्र लेख्ने तिनै मार्क्सले विश्व मै प्रभाव पारेको पाँच कुराहरूबारे तल चर्चा गर्दैछौँ ।
मार्क्स बालबालिकालाई विद्यालय पठाउन चाहन्थे न कि काममा
१८४८ मा जब मार्क्सले कम्युनिस्ट घोषणापत्र लेखे, त्यसबेला उनले बालश्रमको बारेमा उल्लेख गरे । अन्तर्राष्ट्रिय श्रम सङ्गठनले सन् २०१६ मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज पनि विश्वका १० बालबालिकामध्ये एक बाल मजदुर छन् । धेरै बालबालिकाहरू कारखाना छोडेर स्कुल जाँदैछन् त्यो मार्क्सकै देन हो ।
निजी विद्यालयमा बालबालिकालाई निःशुल्क शिक्षा मार्क्सको घोषणापत्रको दश बुँदामध्ये एउटा थियो । कारखानामा बालश्रम निषेध पनि उनको घोषणापत्रमा उल्लेख गरिएको थियो ।
मार्क्स चाहन्थे तपाईं आफ्नो जीवनको मालिक आफैं बन्नुहोस्
के तपाईं २४ घण्टा, सात दिन काम गर्नुहुन्छ ? काममा लञ्च ब्रेक लिनुहुन्छ ? के तपाईंसँग निश्चित उमेरपछि अवकाश प्राप्त गर्ने र निवृत्तिभरण पाउने अधिकार छ ? यदि तपाईंको उत्तर हो भने तपाईंले मार्क्सलाई धन्यवाद दिन सक्नुहुन्छ ।
लण्डन स्कूल अफ इकोनोमिक्सका प्रोफेसर माइक सेभेज भन्छन्, ‘पहिले तपाईंलाई लामो समय काम गर्न भनिएको थियो, तपाईंको समय तपाईंको थिएन र तपाई आफ्नो जीवनको लागि सोच्न सक्नुहुन्थ्यो ।’ मार्क्सले पुँजीवादी समाजमा कसरी मानिस बाँच्नका लागि श्रम बेच्न बाध्य हुन्छन् भन्ने लेखेका थिए । उनकाअनुसार अधिकांश समय तपाईंले आफ्नो मेहनत अनुसारको तलब पाउनुहुन्न र तपाईंको श्रम शोषण हुने गर्छ ।
मार्क्स भन्थे,‘हामीले यस्तो जीवन जिउनुपर्छ जसको मूल्याङ्कन कामले नहोस् । एउटा जीवन जसको हामी आफैं मालिक हौँ, हामी कसरी बाँच्ने भनेर आफैले निर्णय गर्न सकौँ ।’ आज मानिसहरू यही सोचमा बाँच्न चाहन्छन् ।’
उनी चाहन्थे हामी आफ्नो इच्छाको काम गरौँ
मनको काम गर्न पाउँदा हामीलाई खुसी मिल्छ । यदि जीवनमा हामीले चाहेको काम गर्न वा निर्णय गर्ने कुरामा रचनात्मक अवसरहरू पाउँछौँ र हामीले त्यसलाई पूरा गर्न सक्छौँ भने यो हाम्रो लागि राम्रो हुन्छ । तर जब तपाईं इच्छा नभएका काम गर्नुहुन्छ, त्यसबेला काम गर्न मन लाग्दैन, तब तपाईँमा नैराश्यता छाउँछ । यी शब्दहरू आजका कुनै मोटिभेसनल गुरुहरूका होइनन्, बरु १९ औं शताब्दीका मार्क्सले भनेका थिए ।
सन् १८४४ मा लेखिएको आफ्नो पुस्तकमा उनले कामको सन्तुष्टिलाई मानिसको उन्नतिसँग जोडेका थिए । पहिलो पटक यस्तो काम गर्ने उनी पहिलो व्यक्ति हुन् । हामीले आफ्नो अधिकांश समय काममा बिताउने भएकाले त्यो कामले हामीलाई आनन्द दिनु आवश्यक रहेको उनको तर्क थियो ।
उनी चाहन्थे हामी भेदभावको विरोध गरौँ
समाजमा कोही गलत छ, कसैमाथि अन्याय, भेदभाव वा गलत भइरहेको छ भन्ने महसुस भइरहेको छ भने त्यसको विरोध गर्नुहोस् । तपाई सङ्गठित हुनुहुन्छ, तपाईं विरोध प्रदर्शन गर्नुहुन्छ र तपाई त्यो अन्याय रोक्न संघर्ष गर्नुहुन्छ । सङ्गठित विरोधको कारणले नै धेरै देशहरूको सामाजिक अवस्था परिवर्तन भयो । रङ्ग भेदभाव, समलैङ्गिकता र जातीय विभेद विरुद्ध कानुन बन्यो ।
लण्डनमा आयोजित मार्क्सवादी महोत्सवको आयोजकमध्ये एक लुइस निल्सन, मार्क्सलाई दार्शनिकको रूपमा व्याख्या गर्ने कुरामा असहमति राख्छन् । भन्छन्,‘उनले जे लेखे, त्यही गरे । त्यो दर्शन जस्तो लाग्छ तर उनको जीवन र कामलाई नजिकबाट हेर्नुभयो भने थाहा पाउनुहुनेछ,उनी एकअभियन्ता थिए । उनले अन्तर्राष्ट्रिय मजदुर संगठनको स्थापना गरे । जनतासँग हडतालमा सहभागी भए ।’
‘महिलाले कसरी मतदान गर्ने अधिकार पायो ? यो संसद्ले दिएको होइन, तर उनीहरूले सङ्गठित र प्रदर्शन गरेकाले दिइएको हो । हामीले शनिबार र आइतबार कसरी बिदा पायौँ ? सबै मजदुरहरू सङ्गठित भएर हडतालमा गएकाले हो यो,’ उनले भने ।
सरकार, व्यापारिक घराना र सञ्चारमाध्यमको गठबन्धनमाथि नजर राख्न आग्रह
सरकार र ठूला व्यापारिक घरानाको मिलेमतो कस्तो लाग्छ? गुगलले आफ्नो सम्पूर्ण जानकारी भारतलाई दियो भने के तपाई सुरक्षित महसुस गर्नुहुन्छ ? मार्क्सले पनि उन्नाइसौं शताब्दीमा यस्तै महसुस गरे । त्यतिबेला सामाजिक सञ्जाल नभए पनि उनले त्यस किसिमको साँठगाँठबारे अवगत गराउने उनी पहिलो व्यक्ति थिए ।
अर्जेन्टिनास्थित ब्युनस आयर्स विश्वविद्यालयका प्राध्यापक भलेरिया वेघ वेइस भन्छन्,‘उनले त्यस समयमा सरकार, बैंक, व्यवसाय र उपनिवेशको मुख्य एजेन्टहरू बीचको साँठगाँठको सम्बन्धको अध्ययन गरेका थिए । यथार्थ बुझ्न १५ औँ शताब्दीसम्म उनले अध्ययन गरे ।’
भ्यालेरिया वेइज वाइजकाअनुसार मार्क्सको निष्कर्ष थियो– यदि कुनै प्रथा व्यापारको लागि फाइदाजनक छ, जस्तै दासत्व प्रथा उपनिवेशको लागि राम्रो थियो । त्यसैले सरकारले त्यसलाई समर्थन गर्यो । ‘कार्ल मार्क्सले मिडियाको शक्तिलाई बुझेका थिए । यो जनताको सोचलाई प्रभाव पार्ने राम्रो माध्यम थियो । आजकल हामी मिथ्या सूचनाको कुरा गर्छौ, तर उनले यो सबै कुरा पहिले नै बताइसकेका थिए,’ उनले थपे ।
स्रोतः बीबीसी हिन्दी