1679320962.jpg)
काठमाडौं— नेपाली कांग्रेसका प्रवक्ता तथा सांसद डा.प्रकाशशरण महतले अब सरकारलाई पूर्णता दिन गृहकार्य हुने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद महतले सरकारले चाँडै पूर्णता पाउने बताएका हुन् ।
उनले सरकारलाई पूर्णता दिन सम्पूर्ण रूपले गृहकार्य हुने बताए । ‘अब सरकारले चाँडै पूर्णता पाउँछ । काममा केन्द्रित हुनुपर्ने समय छ । सम्पूर्ण शक्ति अब काममा लगाउनुपर्छ । डेलिभरी दिनुपर्छ । अब त सरकारले पूर्णता पाउनेतिरै सम्पूर्ण गृहकार्य हुन्छ ।’
नेकपा एमालेका सचिव गोकर्ण विष्टले एमाले प्रतिपक्षमा बसेर भए पनि राष्ट्र र जनताको हितको मुद्दा उठाउने प्रतिक्रिया दिए । उनले जनताको हितमा पार्टीले भूमिका निर्वाह गर्ने र सरकारलाई सोही अनुरुप दबाव दिने बताए ।
उनले भने, ‘एमाले सरकारमा रहेको अवस्थामा राष्ट्र र जनताको हितमा कामहरू सम्पादन गर्ने, कार्यान्वयन गर्नेगरी भूमिका निर्वाह गर्छ । सरकार बाहिर रहेको अवस्थामा पनि राष्ट्र र जनताको हितमा नै मुद्दा उठाउँछ, सरकारलाई दबाव दिन्छ । जनताका हितका लागि भूमिका निर्वाह गर्छ । एमालेलाई जनताको हितमा काम गर्नका लागि सरकार नै चाहिन्छ भन्ने छैन ।’
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सरकारले छिटोभन्दा छिटो पूर्णता पाउने बताए । उनले प्रधानमन्त्रीले गरेको प्रतिबद्धताहरू द्रुत गतिमा कार्यान्वयन हुने बताए ।
जनता समाजवादी पार्टीका सांसद प्रकाश अधिकारीले पनि आफ्नो पार्टी छिट्टै सरकारमा सहभागी हुने बताए । यद्यपि चैत्र ८ गते पार्टीको कार्यकारिणी समिति बैठकले निर्णय गर्ने उनको भनाइ छ ।
उनले भने, ‘सरकारमा सहभागी चाँडै भइन्छ । चाँडै सरकारले पूर्णता पाउँछ । हाम्रो कार्यकारिणी बैठक ८ गते छ, त्यसले निर्णय गर्छ । यहाँ अहिले जति दलले समर्थन गर्नुभएको छ, संघीयता लोकतन्त्र र गणतन्त्रप्रति पुरै प्रतिबद्ध पार्टीहरू छ । परिवर्तनका मुद्दामा सहमत पार्टीहरू जहिल्यै पनि एक भएर जान्छन् । त्यो हामीले गर्न पनि आवश्यक छ ।’













