
काठमाडौं— सरकारले सबै बालबालिकालाई विद्यालय ल्याउने, सिकाउने र टिकाउने नीति लिएको छ । पछिल्लो समय सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरु कम हुँदै गएको परिप्रेक्ष्यमा सरकारले यस्तो नीति लिएको हो ।
शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विद्यालयस्तरमा अध्ययन गर्ने दलित, अल्पसंख्यक, दुर्गम तथा हिमाली क्षेत्रका, आर्थिक रुपमा विपन्न र अपाङ्ग विद्यार्थीको लागि विशेष कार्यक्रम संचालन गरिने बताए ।
साथै कलेज तहका विद्यार्थीका लागि सरकारले रोजगारीको सृजना गरि ‘पढ्दै कमाउँदै र कमाउँदै पढ्दै’को अवधारणा अगाडि सारेको छ । साथै सरकारले आगामी शैक्षिक वर्षबाट नेपालका सबै क्षेत्रमा समयमै पाठ्यपुस्तक उपलब्ध हुने सुनिश्चिता गरिएको समेत जनाएको छ ।
विद्यालय अध्ययन गर्ने विद्यार्थीहरूले पाउने सबैखाले छात्रवृत्ति एक द्वार प्रणालीबाट वितरण गर्ने सरकारले बताएको छ । त्यस्तै शिक्षण पेसालाई मर्यादित बनाउनका लागि सरकारले विशेष प्याकेज घोषणा समेत गरेको छ । हाम्रो स्कुल बनाऔँ, राम्रो स्कुल भन्ने नारा सहित सामुदायिक विद्यालयहरुको स्तरवृद्धि गर्न सरकाले पहल गर्ने जानकारी दिएको छ ।













