News Griha :: न्यूजगृह
नेपाललाई विश्वस्तरीय फिल्म छायाङ्कनको ‘हब’ बनाउने सकारको तयारी

काठमाडौं— सरकारले नेपालको पर्यटकीय प्रचारप्रसारको लागि फिल्म क्षेत्रसँग सहकार्य गर्ने भएको छ । नेपालको पर्यटकीय गन्तव्यको प्रचार गर्न फिल्म, म्युजिक भिडिओ र डकुमेन्ट्री सबैभन्दा भरपर्दो माध्यम भएको सरकारको बुझाइ छ ।

शुक्रबार संसदमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विदेशी फिल्मको छायाङ्कन हब बनाउने नीति सरकारले लिएको बताए । साथै नेपाललाई पर्यटकीय गन्तव्यको रूपमा विश्व बजारमा चिनाउनका लागि विश्वप्रसिद्ध सेलिब्रिटीहरूलाई घुमफिरका लागि नेपाल आमन्त्रण गरिने सरकारले जनाएको छ ।

त्यस्तै नेपाललाई हलिउड, बलिउड लगायतका विश्वचर्चित फिल्म उद्योगहरूको छायाङ्कन स्थल बनाउनका लागि आवश्यक पूर्वाधार निर्माण गरिने सरकारले  जनाएको छ । विदेशी फिल्म छायाङ्कनलाई प्रोत्साहन गर्दै उनीहरूको लागि उपयुक्त वातावरण निर्माण गरिने सरकारले जनाएको छ ।

साथै विदेशी फिल्मको छायाङ्कन नेपालमा गर्न सके विश्वबजारमा नेपालको प्रचारमा सहयोग पुग्ने सरकारको विश्वास छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १७:०८
Weather Update