
काठमाडौं— अध्यात्म र दर्शनमा रुचि राख्नेलाई स्वामी विवेकानन्द नयाँ नाम होइन । भारतमा जन्मेका विवेकानन्द पेसाले डाक्टर थिए । तर, पछि उनी अध्यात्मको खोजमा लागे । ४० वर्ष नपुग्दै अल्पायुमै देहान्त भएको उनको बारेमा केही रोचक कुराबारे हामी चर्चा गर्दैछौँ ।
अन्तिम दिन तीन घण्टा ध्यान गरे
आफ्नो मृत्यु हुनुभन्दा दुई दिनअघि उनले आफ्नी नजिककी सहकर्मी बहिनी निवेदितालाई आफ्नै हातले खाना खुवाउन आग्रह गरेका थिए । हात धुन उनले हातमा पानी पनि छर्किए । त्यसमा बहिनी निवेदिताले भनिन्, ‘यो सबै मैले गर्नुपर्छ, तपाईंले होइन ।’
यसको जवाफमा विवेकानन्दले निकै गम्भीर भएर जवाफ दिए, ‘येशू ख्रीष्टले पनि आफ्ना चेलाहरूको खुट्टा धुनुहुन्थ्यो ।’
स्वामी विवेकानन्द आफ्नो महासमाधिको दिन सबेरै उठेका थिए । उनी मठको गर्भगृहमा गए र त्यसका सबै ढोका र झ्यालहरू बन्द गरे । त्यसपछि तीन घण्टा एक्लै ध्यानमा बसे । उनले आफ्ना साथी सन्तहरूसँग खाजा खाए ।
चार बजे उनले एक कप तातो दुध पिए । त्यसपछि बाबुराम महाराजसँग घुम्न निस्किए । जब साँझ प्रार्थनाको घण्टी बज्यो, उनी आफ्नो कोठामा गए । त्यहाँ गंगाको अगाडि बसेर उनले ध्यान गरिरहे ।
साँझ करिब ८ बजे उनले सन्यासीलाई बोलाएर टाउकोमा पंखा हम्काउन लगाए । त्यसबेला उनी ओछ्यानमा सुतिरहेका थिए । करिब एक घण्टापछि उनको निधार पसिनाले भिजेको थियो । त्यसबेला उनको हात अलिकति काँपेको थियो र उनले लामो सास फेरे ।
यो सबै समाप्त भएको संकेत थियो । त्यतिबेला रातको ९ः१० बजिसकेको थियो । त्यहाँ उपस्थित स्वामी प्रेमानन्द र स्वामी निश्चयानन्दले स्वामी विवेकानन्दको नाम जोर जोरले बोलाएर उनलाई उठाउने प्रयास गरे, तर स्वामीजीबाट कुनै प्रतिक्रिया आएन ।
हृदयघातका कारण मृत्यु
विवेकानन्दलाई हेर्न डा. महेन्द्रनाथ मजुमदारलाई बोलाइयो । उनले कृत्रिम सास दिएर उनलाई जगाउने प्रयास गरे र अन्ततः मध्यरातमा उनलाई मृत घोषित गरियो ।
डाक्टरका अनुसार उनको मृत्युको कारण हृदयघात भएको बताइएको छ । स्वामी विवेकानन्द ३९ वर्ष ५ महिना २२ दिनपछि यस संसारबाट बिदा भए । उनको भविष्यवाणी सत्य भयो, जसमा उनले भनेका थिए- म मेरो ४०औँ वसन्त देख्न सक्दिन ।
विवेकानन्दबारे ९ रोचक प्रसङ्ग :
- उनले वेद र वेदान्तको कुनै पुस्तक किन्नुभन्दा धेरैअघि किस्तामा फ्रेन्च कुकिंगको इन्साइक्लोपीडिया किनेका थिए ।
- उनी बाख्राको दुध पिउँथे । बेलौती उनको मनपर्ने फल थियो र आइसक्रिम उनको कमजोरी ।
- उनले ठूला गुरुहरूबाट शास्त्रीय संगीतको तालिम लिएका थिए र धेरै वाद्ययन्त्र बजाउन सक्थे ।
- उनले केही समय मेट्रोपोलिटन इन्स्टिच्युटमा अध्यापनको काम गरेका थिए ।
- कहिलेकाहीँ उनी ठट्टा गर्दा आफूलाई उडाउँदै ‘मोटा स्वामी’ भन्ने गर्थे ।
- उनी रातमा राम्ररी निदाउन सक्दैनथे । धेरै प्रयास गरेपछिउनले एक पटकमा १५ मिनेट भन्दा बढी सुत्न सक्दैनथे ।
- एकपटक जब उनी रेलमा यात्रा गर्दै थिए । उक्त, रेल सानो स्टेशनमा रोकिएन । मानिसहरूले रेल ट्र्याकमा थुनेर रेल रोक्न बाध्य पारेका थिए ।
- उनलाई जनावर पाल्न मन पथ्र्यो । उनको कुकुर ‘बाघा’लाई मृत्युपछि गंगा नदीको किनारमा रहेको मठभित्रै गाडिएको थियो ।
- एकपटक वैद्यले पानी पिउन र नुन खान निषेध गर्दा उनले २१ दिनसम्म एक थोपा पानी पनि पिएनन् ।
स्रोत : बीबीसी हिन्दी