
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकासका कार्यक्रमलाई थप विस्तार गरी प्रभावकारी बनाउने बताएका छन् ।
बिहीबारको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कार्यक्रमलाई थप प्रभावकारी र विस्तार गर्ने बताएका हुन् । उनले सामुदायिक विद्यालय शिक्षा गुणस्तरीय बनाउन शिक्षा नीतिमा गुणात्मक सुधार गरिने पनि बताए ।
‘सरकारी एवम् सार्वजनिक शिक्षा सुधारलाई वर्तमान सरकारले उच्च प्राथमिकतामा राखेको छ । सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको जानकारी गराउन चाहन्छु । सबै सरकारी विद्यालयमा गुणस्तरीय र रोजगारमूलक शिक्षा प्रदान गरी स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्न हालको शिक्षा नीतिमा केही गुणात्मक सुधार गर्ने सरकारको धारणा रहेको छ,’ प्रधानमन्त्री दाहालले भने,‘साथै विद्यालयहरूको संरचनागत र भौतिक सुधारमा जोड दिइएको छ । शिक्षकको क्षमता विकासका कार्यक्रमहरू सञ्चालनमा रहेका छन् ।’
उनले शिक्षकलाई प्रोत्साहन र गुणस्तरीय शिक्षा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको धारणा व्यक्त गर्दै स्थानीय तह र प्रदेश सरकारसँग प्रभावकारी समन्वय गरी विद्यालयको अनुगमन र मूल्यांकन गर्ने कामलाई निरन्तरता दिइने बताए ।













