
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्वशिक्षामन्त्री शिशिर खनालले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रको बजेट घटाउन नहुने बताएका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग बोल्दै खनालले शिक्षा क्षेत्रको बजेट घटाउनु नहुने बताएका हुन् ।
मन्त्रालयमा बजेटको सिलिङ २० प्रतिशतले घटाएको सुनिएको भन्दै खनालले त्यसो गरिए दुर्भाग्यपूर्ण हुने बताए । सार्वजनिक शिक्षाको गुणस्तर बढाउन सय अर्बभन्दा बढी बजेट चाहिने खनालको भनाइ छ ।
‘सार्वजनिक शिक्षाको गुणस्तर बढाउने हो भने यही वर्ष पनि सय अर्ब भन्दा बढी बजेट चाहिनेजस्तो देखिन्छ । तर मन्त्रालयमा सिलिङ २० प्रतिशत कम गएको छ भन्ने सुनिएको छ । त्यो भयो भने अत्यन्त दुर्भाग्यपूर्ण हुन्छ,’ पूर्वशिक्षामन्त्री खनालले भने ।
उनले शिक्षाको जग निर्माण गर्नुपर्ने समयमा बजेट कटौती भए शिक्षाको अवस्था झन् पछाडि धकेलिने बताए ।













