News Griha :: न्यूजगृह
बीपीको त्यो वचन, जसले रामचन्द्र राष्ट्रपति बने...

काठमाडौं— २०२५ सालतिर रामचन्द्र पौडेलको बीपी कोइरालासँग, पहिलोपटक भेट भयो । बीपी सुन्दरी जेलबाट रिहा भएपछि, सेन्ट्रल जेलमा बन्दी बनेका तत्कालीन विद्यार्थी नेता पौडेललाई भेट्न गए । व्यवस्था प्राप्तिका लागि बन्दी बनेका रामचन्द्रलाई, बीपीले विचलित नहुने हिम्मत दिए ।

बीपीको त्यहीँ प्रेरणा, जसले अविचलित मात्र बनाएन, आज मुलुकको  राष्ट्राध्यक्ष  समेत बनाएको छ । अबदेखि पाँच वर्षसम्म, शीतलनिवासको ग्यालरीमा राष्ट्रपतिका रुपमा रामचन्द्र पौडेलको फोटो टाँसिने भएको छ । बिहीबार सम्पन्न, राष्ट्रपति निर्वाचनबाट एमालेका उम्मेद्वार सुवासचन्द्र नेम्वाङलाई पराजित गरेर रामचन्द, तेस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भएका हुन् ।

१५ वर्षको उमेरदेखि राजनीतिमा संलग्न रामचन्द्र, मेलमिलाप र समन्वयकारी भूमिका खेल्दै आए । त्योबेला कांग्रेसभित्र कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको कलह मिलाउनेदेखि १० वर्षसम्म युद्ध गरिरहेको माओवादीलाई शान्तिमा फर्काउन उनी सक्रिय भए । अन्ततः माओवादीसहित आठ दलको समर्थनमा राष्ट्रपतिमा निर्वाचित भएका हुन् । नेपाली कांग्रेसको वैचारिक राजनीति मात्र नभइ सार्वजनिक छवि दायाँ बायाँ नभएका नेताहरूमा गनिने, रामचन्द्रको काँधमा अब संविधानको रक्षा र राष्ट्रको सुरक्षा गर्ने जिम्मेवारी परेको छ ।   

प्रधानमन्त्रीमा असफल

कांग्रेसको विधानमा टेकेर नेतृत्वमा पुग्न चाहने पौडेलले प्रधानमन्त्री पदका लागि जति कसरत गरे त्यति राष्ट्रपति पदमा पुग्न गर्नु परेन । बीपी, गणेशमान, कृष्णप्रसादको सानिध्यमा हुर्केका पौडेलले कांग्रेसभित्र सुस्ताए, मुर्झाएर लखतरान परे । बरु, पार्टी फुटालेर हिँडेका देउवा फर्किएर सभापतिदेखि प्रधानमन्त्रीसम्म हुन भ्याए ।  

तर, पौडेल न सभापतिमा जित्न सके, न त १७ पटकसम्म उम्मेदवार हुँदा पनि प्रधानमन्त्री नै हुन पाए । कुलीन कांग्रेस उनको साथमा देखिएन ।  कांग्रेसभित्रको कोइराला परिवारका लागि त्याग गरे पनि उनी उपयोग मात्र भए, न त कसी लागेका कांग्रेसी बुद्धिजीवी नै देखिए । जसकाकारण, उनी १७ औँ पटकसम्म प्रयास गर्दा पनि उनी प्रधानमन्त्री बन्न सकेनन् । १८ औं पटकको प्रयासमा  उनका प्रतिस्पर्धी देउवा, उदार देखिएपछि पौडेल शीतल निवाससम्म सहज पुगेका हुन् ।

नभत्किएको छवि  

२००१ असोज २९ गते ऋषिमाया पौडेलको कोखबाट जन्मिएका रामचन्द्र कांग्रेसको वैचारिक राजनीतिमा अब्बल देखिए । १४ वर्षको उमेरमा राजनीतिमा होमिएका रामचन्द्रले आफ्नो सार्वजनिक छवि दायाँ बाँया पारेनन् । उनी पद र प्रतिष्ठामा नपुगेका भने होइनन् ।

२०४८ देखि प्रतिनिधिसभा सदस्य निर्वाचित हुन लागेका रामचन्द्रको संसदीय यात्रा ०७४ सालसम्म निरन्तर चलिरह्यो । ०५१, ०५६, ०६४, ०७० सालका आम चुनावमा रामचन्द्रले विजयीको झण्डा फराइरहे । तर, २०७४ सालमा भनेको नेकपाले भने उनको प्रतिनिधिसभाको यात्रा पाँच वर्षसम्मका लागि ब्रेक भयो भने गत मङ्सिरको चुनावमा भने उनी विजयी भए । 

उनी प्रतिनिधिसभामा सदस्य मात्रै छ पटक निर्वाचित भए । २०४८ जेठ १५ गते पहिलोपटक स्थानीय विकास मन्त्री नियुक्त भएका उनी, २०४९ साउनदेखि २०५१ सम्म कृषि मन्त्री पदमा बसे । फेरि, २०५१ पुस २ गतेदेखि प्रतिनिधिसभाको सभामुख निर्वाचित भएर २०५६ सम्म काम गरे । नेताहरूको नजरबाट बाहिर नजाने पौडेलले, २०५६ मा उपप्रधान तथा सूचना सञ्चार मन्त्री, स्थानीय विकास मन्त्री भए । २०५६ देखि २०५८ सम्म भने उपप्रधान तथा गृहमन्त्री भए, रामचन्द्र पौडेल । कांग्रेसभित्र वैचारिक र सार्वजनिक छवि नभत्किएकै कारण पदका लागि हारगुहार गर्नुपरेन, अग्रज नेताहरूको पहिलो नजरमा परिरहे ।

शान्तिका सहयात्री

सबैलाई थाहा छ, २०५२ सालदेखि ०६२/०६३ सम्मका वर्षहरू कसरी बिते । देशमा नेकपा माओवादीले सशस्त्र द्वन्द्व चर्काइरहेको थियो । परिवर्तनका खातिर विद्रोह गरिरहेको माओवादीलाई शान्ति प्रक्रियासम्म ल्याउन रामचन्द्र पौडेलको ठूलो भूमिका रह्यो । २०६१ सालदेखि ०६२ सम्म उनले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन बनेको समितिको नेतृत्व गरे । शान्ति समितिको संयोजक हुँदा रामचन्द्रको मेहनत र देन खेर गएन । बमबारुद र रगतसँग खेलिरहेको माओवादी, शान्ति प्रक्रियामा आयो ।

द्वन्द्वरत माओवादीलाई मूलप्रवाहको राजनीतिमा ल्याउने ऐतिहासिक वार्ता र सहमतिका काममा अग्रणी भूमिका निर्वाह गर्ने व्यक्ति रामचन्द्र पनि भए । १२ बुँदै सहमति र विस्तृत शान्ति सम्झौताका मस्यौदाकार उनै रामचन्द्र हुन् । सहमति र सहकार्यका पक्षपाती भएकै कारण २०६३ पछि २०६४ सम्म उनी शान्ति तथा पुनः निर्माण मन्त्री भए । माओवादी वृत्तमा अहिले पनि रामचन्द्रको नाम उच्च तहमा छ । जसकारण नेकपा माओवादी केन्द्रकै समर्थन, प्रस्तावमा उनी राष्ट्राध्यक्ष बनेका हुन् ।

मेलमिलापका हिमायती

२०६४ सम्म पुग्दा, उनी धेरै उच्च बिन्दुमा पुगिसकेका थिए । उनका लागि रहन बाँकी कुनै पद थिएन । विभिन्न मन्त्रालय र मन्त्री पद गुथी सकेका रामचन्द्र गृहमन्त्रीदेखि सभामुखसम्म भइसकेका थिए । पार्टीभित्रको नाम लिस्टमा उनी, शीर्षतिर जान्थे । अब कांग्रेस हाँक्ने जिम्मा, रामचन्द्र लगायतका नेताहरूको थियो । बाँकी, रामचन्द्रका लागि प्रधानमन्त्री हुनु थियो । २०६४ देखि २०७० नेपाली कांग्रेस संसदीय दलको नेता तथा संसद्मा प्रमुख प्रतिपक्षी दलको नेता बनेका रामचन्द्रका प्रतिस्पर्धी बने, शेरबहादुर देउवा । 

रामचन्द्र र शेरबहादुरले गुट उपगुटको द्वन्द्ध २०७४ सालसम्म चलाए । पार्टीभित्र विभिन्न गुट/उपगुट भएपनि, शीर्ष तहमा प्रतिस्पर्धा हुँदा रामचन्द्र र शेरबहादुर गुटको गन्ध धेरै देखिन्थ्यो । मेलमिलापको नीतिबाट पार्टीलाई बढाउनुपर्छ भन्ने रामचन्द्र थ्यौरी  र सत्ता लिप्सामा रमाइ राख्नुपर्छ भन्ने देउवा थ्यौरीको फाटो सानो थिएन ।

तर, त्यो फाटोको मिलन बिन्दु बन्यो १४औँ महाधिवेशन । कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति देउवाले ‘आआफूलाई सभापतिमा जिताएपछि महत्वपूर्ण पदमा पुर्‍याउने’ पौडेललाई वचन दिए । भयो पनि त्यस्तै, कट्टर प्रतिस्पर्धी देउवा–पौडेल आफ्नो तुसलाई त्यागेर एकै ठाउँमा उभिए । देउवा जिताउ अभियानमा सक्रिय जस्तै भए, रामचन्द्र पौडेल । पछि सभापतिमा देउवा नै विजयी भए । त्यतिबेला देउवाविरुद्ध सभापति उम्मेद्वार दिएका कांग्रेस नेताहरूलाई मात्रै साथमा लिएनन् अन्य माओवादीसहितका सात दललाई साथमा लिएर पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका हुन् ।

व्यवस्था विकल्पी

जयजु संस्कृतम् आन्दोलनमा आवद्ध भएर राजनीतिमा लागेका रामचन्द्र सधैँ व्यवस्था बदल्ने वैकल्पिक सोच राख्थे । २०१५ सालदेखि २०२४ सम्म तनहुँको नन्दीरात्रि माविको विद्यार्थी संघ अध्यक्षदेखि रानीपोखरी मावि विद्यार्थी संघको संस्थापक अध्यक्ष समेत भए ।  लगत्तै नन्दीरात्रि मावि विद्यार्थी संघ र संस्कृत मावि रानीपोखरी विद्यार्थी संघको नेतृत्व गरेर जुद्धोदय हाइस्कुलमा विभिन्न २२ विद्यालयका विद्यार्थीको भेला गराइ स्वतन्त्र विद्यार्थी युनियनको माग गर्ने आन्दोलनको नेतृत्व गरे ।

विद्यार्थी राजनीतिको अग्रपङ्क्तिमा देखिन थालिसकेका थिए । नेताहरूको नोटिसमा परिसकेका थिए । त्यहीँ समय, २०१७ पुस १ गते मुलुकको पहिलो निर्वाचित सरकार र संसद् माथि ‘कु’ गरेर राजा मेहन्द्रले सैन्यबलमा शाही निरंकुशता गरे । पहिलो जननिर्वाचित संसद् भङ्ग गरेर, प्रधानमन्त्री बीपी कोइरालालगायत नेताहरूलाई जेलमा राखेको घटनाविरुद्ध १५ वर्षकै उमेरमा प्रजातान्त्रिक आन्दोलनमा सरिक भएका थिए, रामचन्द्र पौडेल । त्यो आन्दोलन मात्रै होइन शाहवंशीय राजतन्त्र अन्त्यको आन्दोलनमा पनि उनको भूमिका रह्यो ।

राजनीतिक विरासत

२०१६ सालतिर पोखरामा हिमालयन छात्र संघ स्थापना गर्ने उनै हुन् । त्यहीँ समय नेपाल संस्कृत विद्यार्थी संघको महासचिव भएर विद्यार्थी युनियनको अभियानमा संलग्न भइ २०१७ सालमा काठमाडौँ सम्मेलनमा पुगे । २०२३ सालमा गण्डकी छात्र संघको संस्थापक अध्यक्ष भएका पौडेल, स्वतन्त्र विद्यार्थी युनियन सरस्वती क्याम्पसमा सदस्य निर्वाचित भए । २०२४ सालमा, पौडेलको विद्यार्थी राजनीति चम्किरहेको मात्र थिएन युवाको नेतृत्व गर्ने समेत भइसकेका थिए । २०२४ सालमा प्रजातान्त्रिक समाजवादी युवा संघको संस्थापक महासचिव बने । विभिन्न पदमा रहेर प्रजातान्त्रिक आन्दोलनबाट आएका पौडेल, नेपाल विद्यार्थी संघको संस्थापक सदस्य भए ।   

२०२७ नेविसंघको स्थापनामा मुख्य भूमिका उनैले  निर्वाह गरे । नेताहरूको विश्वासिलो पात्र बन्दै गएका पौडेल, २०३४ सालमा नेपाली कांग्रेस तनहुँको सदस्य भए । उनको राजनीतिक जीवन ब्रेक लागेन । २०३६ सालमा उनी तनहुँको कांग्रेस उपसभापति भएका उनलाई जनमत सङ्ग्रहको सिलसिलामा बहुदलीय व्यवस्थाको प्रचारप्रसार गर्न गठित नेपाली कांग्रेसले तनहुँ समितिको संयोजकसँगै कार्यकारी सदस्य भए, २०३७ तिर । त्यतिबेलासम्म पौडेल केन्द्रीय राजनीतिमा जमिसकेका थिए ।

२०४० तिर उनी नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख भए । २०४३ सालमा भने उनी नेपाली कांगेस केन्द्रीय केन्द्रीय सदस्य चयन भएका हुन् । त्यसयता केन्द्रीय समितिको विभिन्न पदमा रहेर काम गरिसकेका पौडेलले २०६२ – २०६४ सम्म नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री भनेका उनी २०६४ – २०७२ नेपाली कांग्रेसको उपसभापति भए । २०६४ –२०७० सालसम्म कांग्रेस संसदीय दलको नेता बनेका पौडेल, २०७२ कांग्रेसको कार्यवहाक सभापति बनेका थिए ।  २०४३ सालदेखि निरन्तर केन्द्रीय सदस्य, उपसभापति हुँदै केन्द्रीय कार्यवाहक सभापतिसम्म बनेका पौडेलले कांग्रेसको १३ औँ महाधिवेशनमा देउवासँग पराजित व्यहोरे । २०७२ देखि हालसम्म नेपाली कांग्रेसको ‘वरिष्ठ नेता’ भए ।

अँध्यारो घरका साक्षी

निरंकुशता शासन, शैली अहिले जस्तो थिएन । त्यो शासनविरुद्ध अलिकति बोलेपछि, बदलामा अँध्यारो घर अर्थात् जेल पुर्‍याइन्थ्यो । यसको गतिलो साक्षी हुन्, रामचन्द्र पौडेल । नेपाली कांग्रेसको सशस्त्र सङ्घर्षका बेला, भरतपुर कब्जा गर्ने सङ्घर्षमा संलग्न भएको आरोपमा २०१८ सालमा काठमाडौंबाट गिरफ्तार भए । पहिलोपटक करिब एक महिना हिरासतमा बसे । त्यतिले मात्रै भएन प्रजातन्त्रका लागि सडकमा विद्यार्थीको नेतृत्व गर्ने क्रममा २०२१ सालतिर एक वर्ष हिरासतमा बन्दी बने ।

रिहा भएपछि पनि नेपाल प्रहरीका तत्कालीन डीआईजी निष्कासनको विरोधका क्रममा २०२३ सालतिर फेरि हिरासत पुगे । नेताहरूको चेतावनी र वार्ताले उनी छुटे पनि, प्रजातान्त्रिक समाजवादी युवा संघको गतिविधिमा संलग्न भएको आरोपमा २०२४ सालतिर पोखरामा गिरफ्तार गर्‍यो । त्यतिबेला करिब १५ महिना हिरासत बसे । पोखरामा ९ महिना र काठमाडौँमा ६ महिना जेल जीवन बिताउन बाध्य भए । तत्कालीन सरकारले उनलाई प्रजातान्त्रिक समाजवादी युवा संघको गतिविधिमा पश्चिमाञ्चल क्षेत्रमा सक्रिय रहेको आरोपमा फेरि २०२६ गिरफ्तार गर्‍यो पुनः एक वर्ष काठमाडौँको जेलमा व्यतीत भयो । 

२०२७ नेपाल विद्यार्थी संघको स्थापनामा नेतृत्व गरेको आरोपमा तत्कालीन सरकारले काठमाडौँमा ३ महिना हिरासतमा थुनामा राख्यो । प्रजातन्त्रका लागि पौडेलले त्यति मात्रै जेल जीवन बिताएनन् ।  रमाइलो झोडा काण्डको विरोधमा कीर्तिपुर विश्वविद्यालयमा कार्यक्रम गर्दा उनी २०२८ गिरफ्तार परे भने २०३२ सम्म निरन्तर ४ वर्ष जेल बन्दी जीवन बिताए, रामचन्द्रले । नेपाली कांग्रेसको पटना सम्मेलनमा सक्रिय रहेको भन्दै २०३४ मा फेरि गिरफ्तार परेका पौडेल त्यतिबेला १० महिना बन्दी बने । 

यहीँ सम्मेलनबाट नेपाली कांग्रेसले पञ्चायतको अन्त्य र प्रजातन्त्र पुनस्थापनाका लागि सत्याग्रह गर्ने निर्णय पारित गरिसकेको थियो । जनमतसङ्ग्रहको सिलसिलामा बहुदलीय व्यवस्थालाई जिताउन सक्रिय रहकै अवस्थामा २०३६ मा फेरि गिरफ्तार परेर ६ महिना हिरासत बसे ।  पञ्चायती व्यवस्था अन्तर्गत २०३८ सालमा भएका राष्ट्रिय पञ्चायत, जिल्ला पञ्चायत र गाउँ/नगर पञ्चायतको निर्वाचन नेपाली कांग्रेसको निर्णयअनुसार बहिष्कार अभियानमा सुरु गर्‍यो । त्यस सक्रिय भन्दै फेरि गिरफ्तार गरेर ६ महिनासम्म बन्दी बनायो । 

नेपाली कांग्रेस प्रजातन्त्र पुनःस्थापनाका लागि निरन्तर संघर्ष गरिरह्यो । पञ्चायतको अन्त्य र प्रजातन्त्रको पुनस्थापनाका लागि नेपाली कांग्रेसले गरेको दोस्रो सत्याग्रह सफल बनाउन सक्रिय भएको भन्दै २०४२ सालमा गिरफ्तार गरेर ९ महिना हिरासतमा राख्यो । पौडेलको जिम्मेवारी त्यति मात्रै थिएन छापाखाना तथा प्रकाशनमा पनि सक्रिय थिए । कांग्रेसका विभिन्न विभाग तथा शाखाहरू बारे पत्रपत्रिकामा प्रकाशन गरेर सार्वजनिक गरेको आरोपमा २०४५ सालमा ३ महिना हिरासत पुर्‍यायो । 

बहुदलीय व्यवस्थाको पुनःस्थापना धवलागिरि अञ्चलका जिल्लामा पार्टी संगठन विस्तार गरेको आरोपमा २०४६  सालमा गिरफ्तार गरेर बागलुङ जेलमा तत्कालीन राज्य पक्षले ५ महिना बन्दी बनायो । २०५९ तिर शाही कदमपछि करिव एक वर्ष नजरबन्द र हिरासत राख्यो । दोस्रो जनआन्दोलन २०६२/०६३ का दौरान पटकपटक गिरफ्तार र गृहबन्दी बनेका बने । २०१८ देखि २०६२ सम्म विभिन्न समय गरेर १५ वर्ष जेलमा बन्दी जीवन बिताए, रामचन्द्रले । उनीलाई केन्द्रमा राखेर कांग्रेस वृत्तले ‘रामचन्द्रका १४ वर्ष वनबास’ भन्ने पनि गरेको थियो ।

कांग्रेसभित्र मध्यमार्गी

शीर्ष नेताहरूमा गनिन लागेपछि पौडेल नेताहरूको मनमुटाव मिलाउन सधैँ अग्रसर भए ।समन्वयकारी भूमिका निर्वाह गर्ने पौडेल, तत्कालीन सभापति विश्वेश्वरप्रसाद कोइराला, पार्टीका सर्वमान्य नेता गणेशमान सिंह, पार्टी संस्थापक कृष्णप्रसाद भट्टराई र पछि सभापति गिरिजाप्रसाद कोइरालाहरूको विवाद मिलाउन सक्रिय देखिन्थे । समाजवादी चिन्तक र प्रयोगकर्ता रुपमा देखिन खोज्ने उनको छविमाथि बेलाबखत प्रश्न उठ्न स्वच्छ भनेर व्याख्या हुन्छ ।

अध्यानी नेता

बेलाबखत नेताहरूको शिक्षाबारे चर्चा हुन्छ । त्यसमा पनि रामचन्द्रको शिर निहुरो पर्दैन । २०२४ सालतिर शास्त्री संस्कृत साहित्यमा पढेका रामचन्द्रले नेपाली साहित्यमा २०२७ सालमै स्नातकोत्तर गरे । त्यसयता रामचन्द्र विधान र पुस्तक मात्रै तयार पारेनन् धेरै पुस्तकका लेखक पनि हुन्, रामचन्द्र । ‘नेपाली कांग्रेसको सङ्क्षिप्त इतिहास, प्रजातान्त्रिक समाजवाद एक अध्ययन २०४७ नेपाली कांग्रेस र नेपालको आधुनिकीकरण, नेपाली कांग्रेस के भन्छ ?, आस्थाको यात्रा (राजनीतिक विश्लेषण) २०५५, नेपाली कांग्रेस अबको बाटो प्रजातान्त्रिक समाजवाद २०७५, कृषि क्रान्ति र समाजवाद, राजनीतिको राजमार्ग २०७९, नेपाली कांग्रेस रूपान्तरणको मार्गचित्र,  नयाँ सन्दर्भमा समाजवाद, अभिशप्त इतिहास (माघ १९ को काण्डपछि) लगायतका दर्जनौं पुस्तकका लेखक हुन् । उनी त्यति मात्रै होइन विभिन्न विषयमा नेपालका राष्ट्रिय दैनिक, साप्ताहिक, मासिकमा पनि आफ्ना लेख रचना लेखिरहन्छन् । अध्ययनीय नेताका रुपमा चिनिने रामचन्द्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार सम्मान पनि पाएका छन् । 

मानवअधिकार सम्बन्धी विभिन्न पुरस्कार, महेन्द्र विक्रम शाह पुरस्कार (महेन्द्र विक्रम शाह नेपाल प्रजातन्त्र कांग्रेसका संस्थापक), जापान सरकारले प्रदान गरेको राजकीय सम्मान ‘अर्डर अफ द राईजिङ सन’ को सम्मान (२०२० सन्)बाट उनी सम्मानित भइसकेका छन् । पौडेलले हालसम्म २० भन्दा बढी विकसित राष्ट्रहरूको भ्रमण समेत गरेका छन् ।

नेपालका सबै जिल्लामा पुगेका पौडेलले भारत, चीन, संयुक्त राज्य अमेरिका, जर्मनी, संयुक्त अधिराज्य, स्पेन, बेल्जियम, इटाली, फ्रान्स, रोमानिया, नेदरल्याण्डस्, स्विट्जरल्याण्ड, पोर्चुगल, टर्की, रसिया, इजिप्ट, इजरायल, माल्दिभ्स, दक्षिण कोरिया, जापान, थाइल्याण्ड, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का लगायतका देशहरूको भ्रमण गरेका छन् । 

पौडेलका पिता दुर्गाप्रसाद पौडेल पनि राजनीतिमा चासो दिन्थे । पछि पौडेलले श्रीमती, सविता छोरीहरू सर्मिला, संज्ञा, अनुज्ञा, अवज्ञा र छोरा चिन्तनको पनि साथ पाए । जन्मस्थान तनहुँको मिर्लुङ, बाहुनपोखरा, हालको व्यास नगरपालिका – ८ मा भएपनि स्थायी बसोबास व्यास नपा – ८, बेलथुम्की मै भयो । मध्यमवर्गीय किसान परिवारमा जन्मिएर मुलुकको तेस्रो राष्ट्रपतिमा चयन भए ।

अब उनको काँधमा दलीय स्वार्थको ‘टीभी’ बनेका पूर्व राष्ट्रपतिभन्दा संविधानको रक्षक र नीति निर्देश गर्नुपर्ने जिम्मेवारी परेको छ । अघिल्ला दुई राष्ट्रपतिको भूमिका दलीय स्वार्थमा परिणत भयो । रामचन्द्रले आफ्नो पाँच वर्षे कार्यकाल कस्तो बनाउँछन् ? त्यो हेर्न बाँकी छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १७:३३
Weather Update