News Griha :: न्यूजगृह
आर्थिक संकट : रोकियो कर्मचारीको तलब 

इस्लामावाद— पाकिस्तान सरकारले देशमा जारी आर्थिक संकटका कारण विदेशमा रहेका आफ्ना कूटनीतिक नियोगत तथा राजदूतावासमा कार्यरत कूटनीतिक कर्मचारीको तलब रोकेको छ ।

कूटनीतिक कर्मचारीले दुई महिनादेखि तलब नपाएका, बिना पारिश्रमिक उनीहरूले इदुल फित्र मनाएका र विद्यालयको शुल्क तिर्नसमेत धौधौ भएको स्रोतलाई उद्धृत गर्दै पाकिस्तान टूडेले जनाएको छ ।

समयमा आफ्ना सन्तानको शुल्क नतिरे उनीहरू विद्यालयबाट निष्काशित हुनसक्ने चिन्ता कर्मचारीलाई छ । अर्थ मन्त्रालयले गत डिसेम्बरमा सबै कर्मचारीको तलब निकासा गरिएको दाबी गरे पनि मार्च महिनाको तलब प्राप्त नभएको कूटनीतिक नियोगका कर्मचारीले बताएका छन् ।

पाकिस्तानी विदेश मन्त्रालयले पनि समयमै तलब निकासा गर्न अर्थ मन्त्रालयका अधिकारीलाई अनुरोध गरेको छ । विदेश मन्त्रालयले आफ्नो बजेटबाट कूटनीतिक कर्मचारीलाई जनवरी र फेब्रुअरीको तलब हस्तान्तरण गरेको थियो ।

विदेश मन्त्रालयले मातहतका निकाय र विभागमार्फत विदेशमा कार्यरत आफ्ना कर्मचारीका लागि रकम विनियोजन गरी प्रत्येक महिनाको एक वा दुई तारिखमा कर्मचारीको खातामा रकम दाखिला गर्दै आएको थियो ।

विदेशमा कार्यरत कर्मचारीलाई विदेशी मुद्रामा तलब दिनुपर्ने भएकाले आर्थिक समन्वय समिति र पाकिस्तानको केन्द्रीय बैंकको समन्वयमा आवश्यक व्यवस्था गरिने बताइएको छ । रासस/एएनआई 

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १८:२६
Weather Update