News Griha :: न्यूजगृह
कसको तलब बढी ? 

इस्लामावाद— पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीभन्दा सर्वोच्च अदालतका न्यायाधीशले बढी तलब पाउने गरेका छन् ।

पाकिस्तानको केन्द्र सरकार र प्रान्तीय सरकारका मन्त्री, सांसद, सचिव एवम् उच्च सरकारी कर्मचारीले सर्वोच्च अदालतका न्यायाधीशको भन्दा कम तलब पाउने गरेका सार्वजनिक लेखा समितिमा पेश गरिएको तथ्यांकलाई उद्धृत गर्दै द न्यूज इन्टरनेशनलले जनाएको छ ।

पाकिस्तानमा सबैभन्दा धेरै तलब पाउने प्रधानन्यायाधीश हुन्छन् भने सर्वोच्च अदालतका न्यायाधीशहरू दोस्रो श्रेणीमा छन् । तीन नम्बरमा राष्ट्रपति छन् । संघीय मन्त्री र सचिवको भन्दा पनि कम तलब छ प्रधानमन्त्रीको ।

सार्वजनिक लेखा समितिका अध्यक्ष नुर खानका अनुसार पाकिस्तानी राष्ट्रपतिको पारिश्रमिक पाकिस्तानी आठ लाख ९६ हजार पाँच सय ५० रुपैयाँ छ भने प्रधानमन्त्रीको दुई लाख एक हजार पाँच सय ७४ छ ।

प्रधानन्यायाधीशले १५ लाख २७ हजार तीन सय ९९, सर्वोच्च अदालतका न्यायाधीशले १४ लाख ७० हजार सात सय ११ र संघीय मन्त्रीको तलब तीन लाख ३८ हजार एक सय २५ रहेको छ ।

एक जना सांसदको तलब एक लाख ८८ हजार छ भने २२औं तहका सरकारी अधिकारीको तलब पाँच लाख ९१ हजार चार सय ७५ छ ।

लेखा समितिले राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सर्वोच्च अदालतका अन्य न्यायाधीशले प्राप्त गर्ने भत्ता, अन्य सेवा–सुविधा तथा भत्ताको विवरण माग गरेको द न्यूज इन्टरनेशनलले जनाएको छ । रासस/एएनआई 

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १८:१३
Weather Update