
काठमाडौं— नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने धन्दामा संलग्न भएको आरोपमा शमशेर मियाँलाई प्रहरीले पक्राउ गरेको छ । मियाँ हज कमिटी अध्यक्ष हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा उनी संलग्न रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । विशेषगरी धन्दामा संलग्नहरूलाई रकम ओसारपसारमा उनको गाडी प्रयोग भएको थियो । उनकै गाडी प्रयोग गरी पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे लगायतका व्यक्तिले रकम ओसारपसार गरेका थिए । उनको गाडीलाई प्रहरीेले नियन्त्रणमा लिएको छ । गाडीलाई अहिले जिल्ला प्रहरी परिसरमा राखिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सिताराम रिजालले मियाँ पक्राउ परेको बताए । उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा शमशेर मियाँ पक्राउ परेका छन् । उनलाई काठमाडौं परिसरबाटै खटिएका प्रहरी टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।’
धन्दामा संलग्न भएको अभियोगमा प्रहरीले खाण र पाण्डेसहित पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई, पूर्वसांसद आङटावा शेर्पालाई पक्राउ गरिसकेको छ । त्यसबाहेक धन्दामा संलग्न सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा, सागर थुलुङ, नरेन्द्र केसी, रामशरण केसी र गोविन्द चौधरीलाई पनि पक्राउ गरेको छ । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा र नीरज राईलगायत फरार छन् ।
उनीहरूविरुद्ध संगठित अपराध तथा ठगी मुद्दामा म्याद थप भइ अनुसन्धान भइरहेको छ । जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूविरुद्ध राज्य विरुद्धको अपराधमा समेत मुद्दा चलाउन प्रहरीलाई निर्देशन दिएको छ । अबको दुई दिनभित्र प्रहरीले घटनाको अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गर्दैछ ।













