
काठमाडौं— अस्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले अस्ट्रेलियाका विद्यार्थी नेपाल आउने वातावरण सहजीकरण गर्ने बताएका छन् ।
नेपालको तीनदिने भ्रमणमा रहेका वाट्सले काठमाडौं विश्वविद्यालय(केयू)मा भएको एक अन्तरक्रियामा भने, ‘अस्ट्रेलियाबाट पनि विद्यार्थी नेपाल पढ्न पठाउन सकिन्छ । विश्वविद्यालयसँग यसको लागि सहकार्य गर्न सकिन्छ ।’
उनले नेपालका विद्यार्थीको अस्ट्रेलियालगायत देशमा पढ्न जाने क्रम बढिरहेको जिकिर गरे ।
उनले नेपाल र अस्ट्रेलियाका विश्वविद्यालयहरूबीच भइरहेका सहकार्यको सराहना गर्दै ती सहकार्यलाई यथार्थको सहकार्यमा परिणत गर्ने आवश्यकतामा पनि जोड दिएका छन् । तर, उनले विदेश गएर अध्ययन गर्दाको महत्व आफ्नो स्थानमा भएपनि देश विकास गर्न चाहनेले स्वदेशमा नै अध्ययन गर्नपर्ने कुरामा समेत जोड दिएका छन् ।
कार्यक्रममा केयूका उपकुलपति प्रा. भोला थापाले अन्तराष्ट्रिय विद्यार्थीलाई नेपाल ल्याउने अभियानबारे सहायक विदेशमन्त्री वाट्सलाई जानकारी दिँदै फेलोसिपलगायत विश्वविद्यालयका नीतिहरूबारे अवगत गराएका थिए ।
पछिल्लो समय उच्च शिक्षाको लागि १२ कक्षा उत्तिर्ण गरेपछि नै नेपाली विद्यार्थीहरू अस्ट्रेलिया, अमेरिका, क्यानडा, भारतलगायत देशमा जाने क्रम बढेको छ । जसको असर नेपालका विश्वविद्यालयमा देखिन थालेको छ ।
विश्वविद्यालय र क्याम्पसहरूमा विद्यार्थी संख्या घटेपछि त्यसको अनुसन्धान गर्दै केयूले प्रतिवेदन नै तयार पारेको थियो । यस्तै, विश्वविद्यालय अनुदान आयोगले विद्यार्थी कम हुन थालेपछि केही दिनअघि क्याम्पस मर्जरको अवधारणासमेत अघि सारेको थियो ।
केयूले विद्यार्थी घट्न थालेपछि स्वदेशी र विदेशी विद्यार्थीलाई आकर्षित गर्न विभिन्न कार्यक्रमहरू सुरु गरेको छ । जसमा प्राध्यापक र सह–प्राध्यापकअन्तर्गत केयूमा एमफिल, पीएचडी वा अनुसन्धानमा आधारित स्नातकोत्तर तहमा भर्ना भएका विदेशी विद्यार्थीलाई पनि रिसर्च फेलो हुने सुविधा छ । रिसर्च फेलो हुन चाहने विदेशी विद्यार्थीले तिर्नुपर्ने शुल्कका साथै होस्टल शुल्कसमेत प्राध्यापक र सह–प्राध्यापकको सिफारिसमा विश्वविद्यालयले मिनाह गरिदिने व्यवस्था छ ।
विश्वविद्यालय तहबाट यी निर्णय भइ अगाडि बढिसकेको अवस्थामा नेपाल सरकारसँग भिसा शुल्क लगायतका प्रावधानहरू थप सहयोगका लागि कुराकानी भइरहेको विदेश सम्बन्ध महाशाखाका सह–निर्देशक डा. उद्धव प्याकुरेलले बताए ।
विगत तीन दशकको रेकर्ड हेर्दा केयूबाट दीक्षित हुनेमध्ये करिब १३ प्रतिशत विद्यार्थी विदेशी रहेका छन् । गत वर्षसम्म दक्षिण एसियाका भारत, श्रीलंका, पाकिस्तान माल्दिभ्स, बगंलादेशसहित अमेरिका, क्यानाडा, बेलायत, जर्मनी, नर्बे, रसिया सहित ५५ देशका करिब ५ हजार विद्यार्थी केयूबाट दीक्षित भएका छन् ।