News Griha :: न्यूजगृह
सामुदायिक विद्यालयका प्रअले अब गर्नुपर्ने यी काम

कास्की— पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयमा शिक्षा सुधारका लागि प्रधानाध्यापकहरूसँग २८ बुँदे सम्झौता गरेको छ ।

महानगरपालिकाका प्रमुख धनराज आचार्य र सम्बन्धित विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्षहरूको रोहबरमा महानगरपालिकाको तर्फबाट शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्य र विद्यालयका प्रध्यानाध्यापकहरूले २८ बुँदे कार्यसम्पादन करार सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार आधारभूत तहमा विद्यार्थीको भर्ना र टिकाउ दरमा वृद्धि, शैक्षिकसत्रभर दुई सय २० दिन विद्यालय सञ्चालनसहित कम्तीमा एक सय ९२ दिन पठनपाठनको सुनिश्चितता, विद्यालयमा शिक्षक पदपूर्ति रिक्त भएको कम्तीमा ३० दिनभित्र गरिसक्नु पर्नेछ ।

यसैगरी सबै प्रध्यानाध्यापकहरूले पाँचवर्षे विद्यालय सुधार योजना, एकवर्षे शिक्षक शिक्षण सुधार योजना र एकवर्षे विद्यार्थी सिकाइ सुधार योजना निर्माण गरी कार्यान्वयन गर्नुपर्नेछ ।

विद्यार्थीलाई किताब केन्द्रित सिकाइभन्दा पनि परियोजनात्मक कार्यमा आधारित शिक्षण सिकाइका क्रियाकलाप सञ्चालन, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ र सामाजिक परीक्षण समिति समयमा गठन गर्ने, महानगरले तयार गरेको स्थानीय पाठ्यक्रम केन्द्रीय शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्ने, समयमा पाठ्यपुस्तक विद्यार्थीलाई उपलब्ध गराउने, आधारभूत शैक्षिक सामग्री उपलब्ध गराउनेलगायत सम्झौतामा उल्लेख गरिएको छ ।

करारनामा गर्ने प्रधानाध्यापकहरूले चालु शैक्षिकसत्रको वैशाख महिनाभित्र स्पष्ट कार्ययोजना तयार गर्नु पर्नेछ ।

सम्झौतामा उल्लेखित कार्यको चौमासिक समीक्षासहित प्राप्त हुन नसकेका लक्ष्यको हकमा महानगरपालिकाको तर्फबाट कर्यायोजना बनाई सम्झौता कार्यान्वयन, सहजीकरण र अनुगमन संयन्त्रको विकास गरिने महानगरले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  २०:५०
Weather Update