काडमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी सदैव राजनीतिक स्थिरता र देशको समृद्धिका पक्षमा उभिएको बताएका छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने प्रस्तावका पक्षमा धारणा राख्दै संविधान प्रदत्त राजनीतिक व्यवस्था, राजनीतिक स्थिरता र देशको समृद्धिका पक्षमा सधैँ उभिइरहने बाचा गरे ।
२६ पुसमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्दा देशका प्रमुख एजेण्डाका बारेमा उल्लेख गरेको जानकारी गराउँदै सभापति देउवाले प्रतिनिधिसभाको पूर्ण कार्यकालको सुनिश्चितता र समग्रमा राजनीतिक स्थिरताका लागि प्रस्तावका पक्षमा मतदान गरेको बताए ।
उनले भने, ‘त्यसबेला पनि मैले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण, संविधानको रक्षा र सार्थक कार्यान्वयन, मुलुकमा राजनीतिक स्थिरताको सुनिश्चितता हाम्रो आधारभूत आवश्यकता भएकोतर्फ सदनको ध्यान आकृष्ट गरेको थिएँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामार्फत नै मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न सकिन्छ भन्ने विषयमा जोड दिएको थिएँ र राजनीतिक स्थिरतालाई पूर्वशर्तका रुपमा उल्लेख गरेको थिएँ ।’













