काठमाडौं— नेकपा एकीकृत समाजवादी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले अलोकतान्त्रिक बनेको बताएका छन् ।
बुधबार मदन-आश्रित स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले एमालेभित्रका अलोकतान्त्रिक चरित्रहरू हटाउन एमाले नेता तथा कार्यकर्ताहरूलाई सुझाव दिए ।
उनले एमालेभित्र नीति भन्दा नेता प्रधान र व्यक्तिवाद हाबी भएको आरोप लगाए । एमाले जबजबाट विचलित भएको उनको आरोप छ । उनले पार्टीको यस्ता विचार र नेताहरू विरुद्ध जुध्न एमालेका नेताहरूले आवाज उठाउनुपर्ने बताए ।
‘नेकपा एमालेभित्र रहेको अलोकतान्त्रिक, नीति भन्दा नेता प्रधान, नेताभन्दा नीति प्रधान हुनुपर्ने भन्दा नीतिभन्दा नेता प्रधान भन्ने मान्यतामा छ । एउटा व्यक्तिको आदेश सबैले पालना गर्नुपर्ने मान्यता बोकेको त्यो पार्टी जनताको बहुदलीय जनवादबाट विचलित भइसकेको छ । मदन भण्डारीको विचारबाट विचलित भएको छ,’ उनले भने, ‘यही मञ्चबाट आह्वान गर्छु, नेकपा एमालेका तमाम कार्यकर्ता, नेताहरूलाई आफू आफ्नो पार्टी भित्र रहेका गलत विचार र प्रवृत्तिहरूको पहिचान गर्नुहोस्, त्यसका विरुद्धमा जुध्न आँट गर्नुहोस् ।’
अध्यक्ष नेपालले देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताए । नेपालमा कांग्रेस, कम्युनिस्टबीच भ्रष्टाचारमा प्रतिस्पर्धा भइरहेको उनको भनाइ छ । उनले सरकारमा रहेकाहरूमा कसरी पैसा कमाउने र कसरी जनतालाई लुट्ने भन्ने प्रवृत्ति हाबी रहेको उल्लेख गरे ।
उनले नेपालको राजनीतिलाई कसरी भ्रष्टीकरणबाट जोगाउने ? नेपालको कम्युनिस्ट आन्दोलनलाई कसरी भ्रष्टीकरणबाट जोगाउने ? भन्ने ठूलो चुनौती रहेको बताए ।
‘नेपाल भ्रष्टाचरमा चुर्लुम्म डुबेको छ, के कम्युनिस्ट, के कांग्रेस, भ्रष्टाचार गर्ने कुरामा लगभग प्रतिस्पर्धा भइरहेको छ,’ उनले भने, ‘त्यहाँ कुनै दर्शनले काम गरिरहेको छैन, एउटै दर्शन छ पैसा कमाउ, जनतालाई लुट, एउटै प्रवृत्ति व्याप्त छ ।’
अध्यक्ष नेपालले नेपाली समाजमा धरै अलोकतान्त्रिक प्रवृत्तिहरू विद्यमान रहेको उल्लेख गरे ।