काठमाडौं— सरकारले मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गरेको छ । २०६२/६३ को जनआन्दोलनमा घाइते भई २८ वैशाखमा निधन भएका काभ्रेका कायस्थलाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शहीद घोषणा गरेको हो । कायस्थलाई राष्ट्रिय शहीद घोषणा गरिएको नेपाल सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
त्यसैगरी बैठकले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई स्विजरल्याण्डको जेनेभामा ७ जेठदेखि सुरु हुने ७६औं वल्र्ड हेल्थ एसेम्लीमा सहभागी हुनका लागि स्विकृति प्रदान गरेको छ । १६ जेठसम्म हुने सो सम्मेलनमा अतिरिक्त सचिव विकास देवकोटा पनि सहभागी हुने मन्त्री शर्माले बताइन् ।
त्यसैगरी सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय संरक्षक समितिको सदस्य पदमा प्राध्यापक श्रीराम रामकृष्ण, सिंगापुर, संगीता सिंह काठमाडौं, प्राध्यापक पुष्करमान बज्राचार्य काठमाडौं, प्राध्यापक सुजान फ्राटियार क्यानडा, प्राध्यापक नामपेर अमेरिका, प्राध्यापक सुर्दशनराज तिवारी काठमाडौं, पदम ज्योति, काठमाडौं, लोचन ज्ञवाली ललितपुर, डा.सन्दुक रुइत काठमाडौं र भानुप्रसाद आचार्य भक्तपुरलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ ।
बैठकबाट तिलगंगा आँखा स्वास्थ्य शिक्षाका लागि विधेयक तर्जुमा गर्नका लागि स्विकृति दिने निर्णय पनि भएको छ । जुम्ला विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन बनाउनका लागि करिव १८३ दशमलव ८० रोपनी जग्गा प्राप्त गर्न नेपाल नागरिक उडड्यन प्राधिकरणलाई स्विकृति प्रदान गर्ने निर्णय पनि सरकारले गरेको मन्त्री शर्माले बताइन् ।
मन्त्रिपरिषद् बैठकले बुटवल–गोरुसिंङ्गे–चन्द्रौटा सडकको विस्तारित सडक सीमा भित्रका घर, टहरा हटाई क्षतिपूर्ति दिने तथा सो प्रयोजनका लागि जग्गा प्राप्त ऐन २०३४ को दफा ५ बमोजिम सो सडक खण्डको सडक योजनाका योजना प्रमुखलाई प्रारम्भिक कारबाही चलाउनका निम्ति अधिकारी तोक्नका लागि स्विकृति प्रदान पनि गरेको छ ।













