News Griha :: न्यूजगृह
सांसदले कस्तो पहिरन लगाउने ?

काठमाडौं— केही दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठ प्रतिनिधि सभा वैठकमा ‘जिन्स, टिसर्ट र ब्लेजर’मा देखिइन् । 

सुमनालाई त्यो पहिरन सुहाएकै थियो । तर, प्रतिनिधि सभामा पनि पहिरनको ख्याल नगरेको भन्दै उनको चर्को आलोचना भयो । यतिसम्म कि सामाजिक सञ्जालमा उनको पहिरनलाई लिएर अनेकन बहस छेडिए । 

प्रतिनिधि सभा सांसदहरूले पनि सुमनाले औपचारिक पोसाक नलगाएर बैठकको अपमान गरेको आरोप लगाउन भ्याए । यतिसम्म कि सुमनाको पहिरन शैलीलाई लिएर चर्चा भइरहेको बेला सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिमा संसद्मा उपस्थित हुँदा औपचारिक पोसाक अनिवार्य लगाउनुपर्ने धारणा राखे । 

‘सांसदहरूले वैठकमा उपस्थित हुँदा लगाउने पहिरनको सवालमा ध्यान दिन आवश्यक छ । प्रतिनिधि सभा बैठकमा उपस्थित हुने सांसदहरूको लागि कानुन नै बनेकोले सोही कानुनको पालना सबैले गरिदिनुहोला,’ समितिमा आफ्नो धारणा राख्दै सभामुख घिमिरेले भने । 

मिडिया, सामाजिक सञ्जाल, सांसदहरू हुँदै सभामुख समेतले आफ्नो पहिरनको विषयमा चासो देखाएपछि रास्वपा नेता श्रेष्ठ आफूले संसद्मा अमर्यादित पोसाक नलगाएको बताएकी छन् । श्रेष्ठले भनिन्, ‘भ्रष्टाचार काण्ड चलिरहेको निर्णयक समयमा आफ्नो पहिरनलाई बढी चर्चा गरेर विषयान्तर गर्ने रणनीति अपनाइएको मात्रै हो ।’ 

श्रेष्ठले सामान्य कुरालाई पहाड जस्तो रूप दिएर आफूमाथि प्रहार गरेको बताइन् । ‘यो नयाँ पुस्ताको राजनीतिकर्मीहरूमाथिको रणनीतिक हमला हो’ श्रेष्ठले प्रश्न गर्दै भनिन्, ‘टिसर्ट र जिन्समा अड्किएर नैतिक प्रहरी बन्ने कि संसदीय बैठक तय गर्ने ?’ साथै सांसद श्रेष्ठले टिसर्ट, जिन्स र ब्लेजरको प्रसङ्गले भ्रष्टाचार र मानव बेचविखन जस्तो जघन्य अपराधलाई छोप्न खोज्ने प्रयास आफूहरूले सफल हुन नदिने बताएकी छन् । 

यद्यपि, सर्वत्र आलोचना भइरहँदा पनि श्रेष्ठले आफ्नो पहिरनको सवालमा माफी भने मागेकी छैनन् । ‘सांसदको मर्यादा पनि राख्दै आफूलाई सहज हुने पहिरन मैले लगाएकी हुँ,’ श्रेष्ठले भनिन्, ‘यो विषयमा मैले किन माफी माग्नु ?’

sumana-shrestha-mp-rsp1684239890.jpg
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ २५ वैशाखको प्रतिनिधि सभा बैठकमा

त्यसो त सांसद बैठकमा टिसर्ट, ब्लेजर र जिन्समा उपस्थित हुने सुमना पहिलो सांसद होइनन् । कांग्रेस महामन्त्री गगन थापा पनि बेलाबखत यस्तै पहिरनमा संसद् बैठकका उपस्थित हुँदै आएका छन् । तर, हालसम्म थापाको पहिरनलाई लिएर विवाद भएको छैन । स्वतन्त्र सांसद अमरेश कुमार सिंह त झन् बैठकमा बोल्न नदिएको भन्दै सदन चलिरहेको अवस्थामा अर्धनग्न भएका थिए । संसद् बैठकमा अर्धनग्न भएको भन्दै सिंहको पनि आलोचना भइरहेको छ । 

के छ पोसाकसमबन्धी प्रतिनिधि सभाको नियम ? 

प्रतिनिधि सभा बैठकमा उपस्थितिका लागि पोसाकसम्बन्धी कानुन नै बनेको छ । प्रतिनिधि सभा नियमावली २०७९ को २४२औँ नम्बर अनुसार सङ्घीय सांसदले प्रतिनिधि सभा वैठकमा सहभागी हुनका लागि औपचारिक पोसाकको प्रयोग गर्नुपर्छ । 

‘जातीय, साँस्कृतिक, मौलिक पोसाकलाई मर्यादित तरिकाले लगाउनुपर्छ भन्ने प्रतिनिधि सभा नियमावलीमै उल्लेख भएको कुरा हो,’ संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले भने, ‘मौलिक र औपचारिक पोसाक लगाउनुपर्ने भनेर स्पष्ट रूपमा नियममा लेखेकै छ ।’ प्रवक्ता गिरीले पोसाक र प्रतीक चिन्हलाई सबै सांसदहरूले सम्मान दिनुपर्ने नियमावलीमा उल्लेख भएको बताए । 

प्रवक्ता गिरीले प्रतिनिधि सभा बैठकको ‘भिजिबिलिटी’ र गरिमालाई कदर गर्दै सांसदहरूले सोही अनुसारको पहिरन लगाउन आवश्यक रहेको बताए । ‘पहिरनले व्यक्तित्वलाई अझै खुलाउने काम गर्छ । त्यसैले तोकिएको पोसाक नियमभित्र रहेर पहिरन लगाउनका लागि माननीय ज्यूहरूले समस्या मान्नु भएन,’ उनले भने । 

संसद्को पहिरनसम्बन्धी अन्तर्राष्ट्रिय प्रचलन कस्तो छ ?

भारतीय संसद्मा समेत विधायकहरूको पहिरन शैलीलाई लिएर कानुन बनेको छ । नेपाल जस्तै बहुभाषिक र बहु साँस्कृतिक जनप्रतिनिधिहरू भारतीय लोक सभामा पुग्छन् । र, उनीहरूले पनि लोक सभा बैठकमा उपस्थित हुँदा आफ्नै मौलिकताअनुसार मर्यादित पोसाक लगाउनुपर्ने कानुन छ । 

त्यस्तै, संसदीय व्यवस्थाको सुरुवातकर्ता देश मानिने बेलायतमा पनि सांसदहरूको लागि पोसाक नियम बनेको छ । बेलायती सांसदहरूको हकमा बैठकमा उपस्थित हुँदा उनीहरूले औपचारिक पोसाक मात्र लगाउन पाउने नियम छ । बेलायती सांसदहरूले बैठकमा उपस्थित हुँदा टिसर्ट र स्पोर्टसवेयर लगाउन पाउँदैनन् । 

‘सदनमा उपस्थित हुँदा प्रत्येकले नियम मान्न जरुरी छ । विशेषगरी पहिरनको सवालमा । टिसर्ट र स्पोर्टस् वेयर लगाएर सदनमा उपस्थित हुन मनाही गरिएको छ,’ बेलायती संसद्का प्रवक्ता सर लिन्ड्से होयलले गृष्मकालीन संसद् अधिवेशन अन्त्यको क्रममा भने । 

अमेरिकी संसद्मा पनि विधायकहरूका लागि पोसाक नियम बनेको छ । त्यहाँका सांसदहरूले पनि कानुनअनुसारकै पहिरन लगाएर मात्रै बैठकमा उपस्थिति जनाउन पाउँछन् । पुरुष विधायकहरूले सुट र टाइ लगाउनुपर्ने नियम छ भने महिलाको लागि स्कर्ट, ब्लाउज र स्ल्याक्स वा सुट–टाइ लगाउनुपर्ने नियम अमेरिकी हाउसले बनाएको छ । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १८:११
समसामयिक
Weather Update