1682939958.jpg)
काठमाडौं— नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विद्यार्थीहरू नयाँ संस्कार र संस्कृतिको अगुवा बन्नुपर्ने बताएका छन् ।
५९औं विद्यार्थी दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले चरम व्यक्तिवादी प्रवृत्तिलाई परास्त गर्दै विद्यार्थीहरू अगाडि बढ्नुपर्ने बताए ।
‘अहिले व्यक्तिवाद चरमरूपमा विकास भएको पाइन्छ । आफूले खोजेको र चाहेका पद नपाए सङ्गठनलाई तोडिदिने, देश र जनताप्रति घात गर्ने प्रवृत्ति व्याप्त छ । अखिलका योद्धाहरूले नयाँ संस्कार र संकृतिको अगुवा भएर अगाडि बढ्नुपर्छ’,उनले भने ।
जनताको विश्वास जितेर काम गर्नुपर्नेमा जोड दिँदै उनले जनतामा नयाँ विश्वास सिर्जना गर्न सक्नुपर्ने बताए । ‘जनताबाहेक राजनीतिको कुनै अर्थ छैन, कम्युनिस्ट पार्टी स्थापना गर्नुको मुख्य उद्देश्य राष्ट्रियताको रक्षा, देशभक्तिको भावनाको विकास र जनताको अधिकार स्थापित गर्नु थियो’,उनले भने ।
वामपन्थी शक्तिले मात्र जनताको आशा अपेक्षा पूरा गर्न सक्ने दाबी गर्दै उनले देशभक्तिको झण्डा फहराउने, लोकतन्त्रका लागि जीवन अर्पित गर्ने नै कम्युनिस्ट हुन् भन्ने स्थापित भएको बताए ।













