News Griha :: न्यूजगृह
४० लाख थान अवैध मोबाइल चलाउँछन् नेपाली 

काठमाडौं— नेपालमा अवैध बाटोबाट आएका मोबाइल अबदेखि नचल्ने भएका छन् ।

सरकारले आयात व्यवस्थापनका लागि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेसँगै अवैध रुपमा नेपाल भित्रिएका मोबाइल नचल्ने भएका हुन् । 

भन्सार विभागले गत वर्षको पुस १५ गतेबाट यो प्रणाली लागू हुने गरि तयारी गरेको भएपनि सरकारको ठाडो निर्देशनमा रोकिएको थियो । ‘भन्सारले एउटा भन्दा बढी मोबाइल ल्याएको हकमा कसरी नियमन गर्ने र दर्ता प्रक्रियामा लैजाने भन्ने विषयलाई टुंगो लगाउन केही समय लाग्यो । त्यही भएर अहिले आएर मात्र यो प्रणाली लागू गरेका हौँ,’ भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले भने, ‘विदेशमा काम गर्ने कामदारको हकमा सरकार लचिलो भएपनि सोही कानुनी छिद्र प्रयोग गरेर व्यवसायीहरूले राजश्व छल्दै आएका थिए ।’ 

भन्सार विभागका अनुसार हाल नेपालमा ४० लाखको हाराहारीमा अवैध बाटोबाट आएका मोबाइल प्रयोगकर्ताहरुले चलाइरहेका छन् । हाल सरकारले विदेशमा कार्यरत कामदारको सन्दर्भमा आफूले प्रयोग गर्ने बाहेक थप एउटा मोबाइल नेपाल ल्याउन पाउने नियम बनाएको छ । वैदेशिक अध्ययनमा जाने विद्यार्थी र कामदारको हितमा बनेको यही कानुनी छिद्रलाई उपयोग गरेर तस्करहरूले अवैध रुपमा नेपालमा महँगा मोबाइल राजश्व नतिरेरै भित्र्याइरहेका थिए । 

‘यसरी अवैध रुपमा नेपालमा मोबाइल भित्रिँदा राज्यले १८ प्रतिशत सम्म राजश्व गुमाउनुपरेको थियो ।’ विभागका सूचना अधिकारी खड्काले भने, ‘यो प्रणाली लागु भएसँगै राजश्व पनि बढ्ने निश्चित छ ।’ भन्सार विभागले एमडीएमएस प्रणाली लागू भएसँगै १० अर्बभन्दा बढि राजश्व संकलन हुने आँकलन गरेको छ । 

सरकारले ६ महिनाभन्दा बढि विदेश बसेर नेपाल फर्कनेहरूको हकमा उनीहरूले थप एउटा मोबाइल ल्याएको खण्डमा भन्सार र दुरसञ्चार प्राधिकरणलाई जानकारी गराउनुपर्ने नियम बनाएको छ । विद्यार्थीको हकमा भने अध्ययन पुरा गरेर फर्कँदा आफूले चलाइरहेको बाहेक थप एउटा मोबाइल ल्याउँदा भन्सार शुल्क तिर्न नपर्ने सरकारले नियम बनाएको छ । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १६:५१
Weather Update