
काठमाडौं— नेपाली कांग्रेसका सांसद आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो बारे भ्रम फैल्याउने गलत टेप सार्वजनिक गरेर आफ्नो चरित्र हत्या भएको बताएकी छिन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा उनले टेपको सत्यतथ्य उजागर गर्न र यस प्रकरणमा संलग्न दोषी को को हो भन्ने चाँडो प्रष्ट पार्न माग गरेकी छिन् ।
उनले भनिन् ‘हाम्रो देशमा गलत समाचारको पराकाष्ठा पुगेको रहेछ, मेरो चरित्रमाथि बलात्कार भएको छ, महिलालाई राजनीतिमा आउँदा पहिला पनि धेरैलाई आत्महत्या गर्न बाध्य बनाएको छ मिडियाले, म अन्यायमा पर्ने महिला होइन् यो मेरो चरित्रमाथि बलात्कार हो । टेपको सत्यतथ्य उजागर गरोस् जति जनाको नाम आएको छ । दोषी हो होइन प्रष्ट आउनुपर्छ ।’
सांसद राणाले यो काण्ड देशको सबैभन्दा लज्जास्पद विषय भएको टिप्पणी पनि गरिन् । भुटानी शरणार्थी प्रकरणको टेपको अडिओ आफ्नो नभएको जिकिर गर्दै उनले सत्य उजागर गर्न आग्रह गरिन् ।