News Griha :: न्यूजगृह

काठमाडौं—  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) ले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र लिनसक्ने व्यवस्थाको शुरुवात गरेको छ ।

सोमबार एनओसी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र लिनसक्ने व्यवस्थाको सुरुआत गरिएको हो ।

सोमबारबाट लागू हुनेगरि शाखाले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र डाउनलोड गर्नसक्ने गरी सेवा प्रवाहलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाएको हो ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नो अब्जेक्सन सर्टिफिकेट चाहने विद्यार्थीले अभिभावक गुहार्नु नपर्ने र घरमै बसेर फर्म भर्न सक्ने र आफैँले सर्टिफिकेट प्रिन्ट आउट गर्नसक्ने व्यवस्था शुरु हुनु प्रशंसनीय भएको बताए । 

उनले भने, ‘नो अब्जेक्शन सर्टिफिकेट चाहने विद्यार्थीले अभिभावक पनि गुहार्नु नपर्ने, आफैँले कोठामा बसीबसी आफ्नै कम्प्युटरबाट फर्म भर्न सक्ने आफैँले प्रिन्ट आउट गर्नसक्ने सर्टिफिकेट, त्यहीँबाट पैसा तिर्नसक्ने व्यवस्थामा प्रवेश गर्नु भनेको प्रशंसनीय काम हो ।’

उनले अबबाट विद्यार्थीहरूले घरबाटै एनओसी फर्मका लागि लाग्ने शुल्क पनि तिर्नसक्ने व्यवस्था गरिएको बताए । मन्त्री राई यो प्रक्रिया पूरा हुन अझै ४० प्रतिशत काम बाँकी रहेपछि चाँडै नै शतप्रतिशत काम हुनेगरि तयारी गरिरहेको बताए ।

त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले फेसलेस, पेपरलेस र क्यासलेसकोसुरुआत हुनु नेपालीहरूका लागि खुशीको कुरा भएको बताए । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १२:२५
Weather Update