News Griha :: न्यूजगृह
चितवनमा १ सय ३९ अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर

चितवन— दुई पालिकामा १ सय ३९ अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर छन् । समावेशी शिक्षा परियोजनाले आइतबार आयोजना गरेको सञ्चारकर्मीसँग छलफलका क्रममा सो तथ्यांक सार्वजनिक गरिएको हो ।

भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा रहेका २ सय ८९ अपाङ्ग बालबालिकामध्ये १ सय ३९  विद्यालय जान नपाएका हुन् । भरतपुरमा अपाङ्गता भएका बालबालिका १ सय २ र कालिकामा ३७ विद्यालय बाहिर छन् ।

भरतपुरभित्र ५० र कालिकामा १९ बालबालिका जटिल प्रकारको अपाङ्गता भएको पाइएको कार्यक्रममा राष्ट्रिय बहिरा महासङ्घकी शर्मिला तामाङले जानकारी दिइन् । उनीहरूलाई घरमा नै गएर सेवा दिइँदै आएको उनले बताइन् ।

इन क्लुसिभ फिउर्चस परियोजनाले दुई पालिकामा दुई वटा स्रोत केन्द्र सञ्चालन गर्दै आएको छ । भरतपुरको बालकुमारी माध्यमिक विद्यालय र कालिकाको रेडक्रस चोकमा केन्द्र सञ्चालन गर्दै आएको छ । भरतपुरमा अहिले तीन र कालिकामा नौ बालबालिका केन्द्रमा छन् ।

अटिजम केयर चितवन सोसाइटीकी प्रमिला न्यौपानले जिल्लामा अटिजम भएका पाँच सयभन्दा बढी बालबालिकाको अभिभावक सम्पर्कमा आएको जानकारी दिइन् । उनीहरू मध्ये ३ सय हाराहारी भरतपुरभित्रका  छन् ।

विश्वमा जन्मने ४४ बालबालिकामध्ये एक जनामा अटिजमको समस्या देखिने गरेको उनले जानकारी दिइन् । भरतपुरले सञ्चालन गरेको अटिजम विद्यालयमा अहिले ३१  बालबालिका अध्ययन गर्दै आएका छन् ।

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  ०८:३८
Weather Update