News Griha :: न्यूजगृह
यार्सा सङ्कलनका लागि असारसम्म विद्यालय बन्द

बझाङ— बझाङको साइपाल गाउँपालिकाभित्रका विद्यालय सोमबार (१ जेठ) देखि एक महिनासम्मका लागि बन्द गरिने भएको छ । अभिभावकसँगै विद्यालय जाने उमेरका बालबालिका यार्सा सङ्कलन गर्न लेकतिर जाने भएपछि विद्यालय बन्द गरिने भएको हाे ।

उत्तरी भेगका काँडा मावि, धलौन माविलगायतका विद्यालय बन्द हुनेछन् । अधिकांश विद्यार्थी यार्सा सङ्कलन गर्न लेकतिर हिँडेपछि विद्यालय बन्द गर्नुपरेको धलौन माविका सहायक प्रधानाध्यापक झलक धामीले बताए ।

उनले भने,‘विद्यार्थीहरू कोही आउँदैनन् । सबै लेकतिर यार्सा टिप्न हिँडेका छन् ।’ बन्द गरिएका विद्यालयका विद्यार्थी बेँसी झरेपछि १ असारतिर मात्र खुल्ने जानकारी प्राप्त भएको छ ।

उत्तरी भेगमा पर्ने काँडा, सुर्मा, छविसपाथीभेरा, तल्कोट, दुर्गाथली र मष्टा गाउँपालिका र बुंगल नगरपालिकाअन्तर्गत पर्ने अधिकांश विद्यालय यतिखेर विद्यार्थीहरु यार्सा सङ्कलनमा गएपछि बन्द गरे जस्तै भएका छन् ।

उत्तरी भेगमा अवस्थित दूरदराजका ती विद्यालय बर्सेनि तीन महिना बन्द हुने गरे पनि यो वर्ष भने पालिकाले निर्णय गरेर हिउँदे बिदाको सट्टामा एक महिना बिदा दिइएको साइपाल गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहराले बताए ।

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  २१:५७
Weather Update