News Griha :: न्यूजगृह
कृषिविज्ञ राईलाई सात दिन हिरासतमा राख्न आदेश

खोटाङ— बालयौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका ‘शुभद्रा–मदन फाउन्डेसन’ (शुभम्) का संरक्षक एवम् कृषिविज्ञ मदन राईलाई थप अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न प्रहरीलाई जिल्ला अदालत खोटाङले आदेश दिएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालित शुभम् फाउन्डेसनमा आवासीयरुपमा बसेर पढ्ने बालिका र किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा गत शुक्रबार फाउण्डेशनबाटै प्रक्राउ परेका संरक्षक राईमाथि अदालतले आइतबार सात दिनको म्याद थप गरेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको हो ।

पक्राउपछि प्रहरी हिरासतमा रहेका संरक्षक राईमाथि एक जना पीडितले बालयौन दुर्व्यवहारसम्बन्धी कसुरअन्तर्गत दिएको उजुरीसमेत दर्ता गरेर कारबाहीको प्रक्रिया थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिए ।

‘शुभम् फाउण्डेशनका संरक्षक मदन राईविरुद्ध एक जना पीडितले लिखित तथा तीन जनाले मौखिक उजुरी दिएका छन् । उहाँहरुले दिएको उजुरीको आधारमा कारबाहीको प्रक्रिया थालिएको छ’, उनले भने, ‘अहिले अनुसन्धानको क्रममा भएकाले केही भन्न सकिने अवस्था छैन । अनुसन्धानपछि थप पुष्टि हुँदै जानेछ । बाँकी तीन जनाले पनि लिखित उजुरी दिने बताएका छन् ।’

कुटोकोदालोदेखि कम्प्युटरसम्म पढाइ हुने भनिएको विद्यालयको संरक्षक राईले आफूहरुको संवेदनशील अङ्गमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अङ्गमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लिल हर्कत गर्नेलगायत आरोपसहित पीडित पक्षले मौखिक उजुरी दिएको प्रहरीले बताएको छ । संरक्षक राईलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान सुरु गरेपछि मौखिक उजुरी दिनेलाई किटानी जाहेरी दिन कार्यालयमा बोलाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए ।

शुभम् फाउण्डेशनका संस्थापकसमेत रहेका ७५ वर्षीय राईले विगत केही वर्षदेखि सामाजिक सञ्जालमा अश्लिल शब्द प्रयोग गरेर स्टाटस लेख्दै आएका थिए । यौन शिक्षाको नाममा सामाजिक सञ्जालमा अश्लिल शब्द प्रयोग गरेको विषयमा संरक्षक राईको चौतर्फि आलोचना हुँदै आएको थियो ।

फाउण्डेशनमा अध्ययनरत बालिका तथा किशोरीमाथि संरक्षक राईबाटै यौन दुर्व्यवहार भएको खबर शुक्रबारदेखि विभिन्न सञ्चारमाध्यममा आइरहेका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  २१:१५
Weather Update