
काठमाडौं— काठमाडौं जिल्ला अदालतले शरणार्थी प्रकरणमा पक्राउ परेका १२ जनालाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
अदालतले नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राखेर छानबिन गर्न प्रहरीलाई अनुमति दिएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालयको प्रस्ताव अनुरुप अनुसन्धानका लागि ४ दिन म्याद थपिएको अदालतले जनाएको छ ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री खाण, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजीत राई, सरकारका सचिव टेकनारायण पाण्डे, निलम्बित एमाले सचिव एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी र यस प्रकरणमा महत्त्वपूर्ण भुमिका खेल्ने केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सागर थुलुङ राई, खाणका पूर्वस्वकीय सचिव नरेन्द्र केसी, गोविन्द चौधरी, रामशरण केसी र सन्देश शर्मा रहेका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीलाई ४ दिनभित्र अनुसन्धान सक्न पनि निर्देशन दिएको छ । यस प्रकरणमा पक्राउ पुर्जी जारी भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी भने फरार छन् ।













