News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
कर्नाटकमा भाजपा हारको सन्देश : हिन्दु राष्ट्रको सपना स्थगित

काठमाडौं— भारतको कर्नाटक राज्यमा भारतीय जनता पार्टी (भाजपा)लाई ध्वस्त पार्दै ३४ वर्षपछि भारी मन्तान्तरले भारतीय राष्ट्रिय कांग्रेस विजयी भयो । उक्त परिणामले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा हिन्दु राष्ट्र बनाउन हिँडेको भाजपाको सपनामा तुषारापात भएको छ ।

चुनावमा कांग्रेसले १३५ सिट जितेको छ भने भाजपा ६६ सिटमा खुम्चिएको छ । जेडी दलले १९ र अन्यले चार सिट जितेको छ । बीबीसी हिन्दीकाअनुसार कनार्टक चुनावमा भाजपाले स्थानीय मुद्दाको सट्टा राष्ट्रिय मुद्दामा केन्द्रित हुँदा पत्तासाफ भएको र कांग्रेसले फाइदा उठाएको विश्लेषकहरूको भनाइ छ ।

भाजपाका लागि कर्नाटक राज्य दक्षिणको प्रवेशद्वार मानिन्थ्यो । कर्नाटकमा प्रधानमन्त्री मोदीले चुनावी अभियानमा लगातार राष्ट्रिय मुद्दाको नाममा ‘डबल इन्जिन’ सरकार र ‘केरला स्टोरी’ सिनेमाको प्रसङ्ग उल्लेख गरेर कांग्रेसलाई विवादमा फसाउन खोजेका थिए । तर, मोदीको तुफानी प्रचारले पनि भाजपाको यो किल्ला बचाउन सकेन ।

Prabhu Bank

कांग्रेस विजयी भएमा महिलाका लागि काम गर्ने वाचा गरेको थियो, त्यसको प्रभाव चुनावमा देखिएको विश्लेषकहरू बताउँछन् । त्यही प्रभावले पाँच वर्षपछि कर्नाटकमा कांग्रेस पुनः सत्तामा आउने बाटो खुलेको उनीहरूको भनाइ छ । 

यो जितले कांग्रेसको आगामी समग्र प्रतिस्पर्धालाई असर पार्ने आकलन गरिएको छ । मतदाताले दिएको निर्णयले कांग्रेसको आत्मविश्वास निकै बढेको छ । यो बढेको मनोबलले राजस्थान, मध्य प्रदेश र छत्तीसगढको विधान सभा चुनाव र त्यसपछि २०२४ मा हुने लोक सभा चुनावमा भाजपालाई सामना गर्न कांग्रेसलाई सहयोगी साबित हुने बीबीसी हिन्दीको ठम्याइँ छ । 

यस्तै, कर्नाटकको चुनावी नतिजाले यहाँका जनताले लगातार दोस्रोपटक कुनै पनि पार्टीलाई मौका नदिने देखाएको छ । यो शृङ्खला सन् १९८५ देखि चल्दै आएको हो ।

१० जेठको निर्वाचनमा जनताले ठूलो सङ्ख्यामा मतदान गरेका थिए, जुन ७३.१ प्रतिशत रहेको छ । यसअघि कर्नाटकमा यति धेरै मतदान नभएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । सन् २०१८ मा विधान सभा चुनावमा त्रिशङ्कु परिणाम दिएका कर्नाटक राज्यका जनताले यसपटक स्पष्ट जनादेश दिएका हुन् ।

कांग्रेसको पाँच–ग्यारेन्टी योजनाले पनि चुनावी परिणाममा काम गरेको देखिन्छ । कांग्रेसले विपन्न परिवारलाई हरेक महिना २ सय युनिट निःशुल्क विद्युत् उपलब्ध गराउने र विपन्न परिवारका सदस्यहरूलाई मासिक १० किलो चामल दिने तथा स्नातक र डिप्लोमा भएकालाई दुई वर्षको बेरोजगारी भत्ता दिने वाचा घोषणापत्रमा गरेको थियो । 

भाजपा सरकारले अन्न भाग्य योजना चार किलो दिने वाचा गरेको थियो । सातबाट झारेर चार बनाएकोमा गरिबहरू दुःखी भए भने चुनावमा भ्रष्टाचार सदाबहार मुद्दा बनेको थियो । कर्नाटकमा भाजपाले सन् २००८ मा जितेको दलित समुदायको मत यसपटक गुमाएको छ । 

यस्तै, उद्योगपति गौतम अडानीको आर्थिक हिनामिना, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सीबीआईमार्फत गिरफ्तार गर्नु जस्ता काण्डले मोदीको सरकार जनतामाझ अलोकप्रिय बन्दै गएको देखिन्छ । कांग्रेस नेता राहुल गान्धीले भारत जोडो यात्राले पनि कर्नाटक चुनावको परणाममा केही प्रभाव पारेको देखिन्छ । उनले मोदीले जस्तो सडकमा ठुल्ठुलो सभा गरेनन्, बरु स–साना समूहमा गएर सम्बोधन गरे । त्यो मात्रै सम्पूर्ण कुरा नभएको विश्लेषकहरू बताउँछन् । 

चुनाव प्रसारमा कर्नाटक कांग्रेस पार्टीले केन्द्रीय नेताको फोटो कम प्रयोग गर्दै स्थानीय नेताहरूको मात्रै तस्बिर प्रयोग गरेका थिए । तर, भाजपाले भने मोदी र केन्द्रीय सभापति जेपी दत्ताको तस्बिर अत्यधिक प्रयोग गरेको थियो । यसरी कांग्रेसले माथिका नेताहरूको स्तर बदलियो, तर, आम मानिसको जिन्दगी बदलिएको छैन भन्ने नारा जनतामाझ बुझाउन सफल हुँदा चुनावी नतिजा आफ्नो पक्षमा पार्न सफल भएको थियो ।

कर्नाटक जित भाजपाको लागि खतराको घण्टी 

कर्नाटकमा कांग्रेसको जित सन् २०२४ मा हुने चुनावमा भाजपाको लागि खतराको घण्टी भएको सांसद अमरेश कुमार सिंहले न्यूजगृहलाई बताए । उनले भने, ‘विपक्षी दललाई जति दुःख दिन्छ, उत्ति नै भाजपा हार्दै जानेछ । अडानी काण्ड, केजरीवाल जेलकेसले कांग्रेसलाई फाइदा पुर्‍यायो ।’ 

लेखक एवम् राजनीतिक विश्लेषक शंकर तिवारी कर्नाटकमा कांग्रेसको जितले विपक्षी क्याम्पमा सकारात्मक सन्देश गएको बताउँछन् । ‘जहाँ–जहाँ कांग्रेस र भाजपाको प्रतिस्पर्धा हुन्थ्यो, त्यहाँ पछिल्लो समय भाजपाले जित्दै आएको थियो । तर, यो चुनावले कांग्रेसले भाजपासँग सिधै प्रतिस्पर्धा गरेपनि जित्नसक्छ भन्ने सन्देश दिएको छ,’ उनले भने । 

रोचक कुरा के छ भने भाजपाको नारा नै कांग्रेसमुक्त भारत बनाउने थियो । तर, दक्षिण भारतबाट भने भाजपाको नै पत्तासाफ भएको छ । दक्षिण भारतका पाँच राज्यमध्ये कर्नाटकमा मात्र सरकार बनाएको भाजपा यो चुनावसँगै बाहिरिएको छ । 

भारतको राष्ट्रिय स्वयम्सेवक संघ (आरएसएस) भारतमा हिन्दु राष्ट्र बनाउन चाहन्छ । भाजपानिकट मानिने आरएसएसको यही उद्देश्य बोकेर भारतमा १७ प्रतिशत मुस्लिम नागरिकलाई बेवास्ता गर्दै हिन्दु राष्ट्रको पथमा लम्केको छ । यसमा आरएसएसलाई भाजपाको पूर्ण साथ र सहयोग देखिन्छ । 

भारतका उत्तर प्रदेशका मुख्यमन्त्री एवम् भाजपा नेता योगी आदित्यनाथ मुगल सम्राटले बनाएको ताज महलबाट नभइ अयोध्याको रामराज्यबाट विश्वमा भारतको पहिचान बन्ने भन्दै खुलेआम लबिङ गर्छन् । यस्तै, बेला–बेलामा भारतको संविधानमा भाजपाले स्वामित्व लिने कि नलिने, अझ दुईतिहाइ बहुमत ल्याएर संविधान नै परिवर्तन गर्ने कि नगर्ने भन्ने बहस हुने गरेको पनि देखिन्छ । यति मात्र होइन, भाजपा सरकारले विद्यालयको इतिहास पुस्तकबाटै मुगल राजाहरूको बारेमा राखिएको इतिहासको पन्ना हटाएका छन् ।

यसरी आक्रामक शैलीमा बढेको आरएसएसको एउटा खेमाले नेपालमा समेत हिन्दु राष्ट्रको परिकल्पना बेच्न थालेको छ । भनिराख्नु नपर्ला, भारत आफैँ धर्मनिरपेक्ष राष्ट्र हो । कर्नाटकको चुनावी परिणामले भाजपाको चुनावी रणनीतिको रूपमा रहेको हिन्दु संवेदनालाई जनताले लत्याएको छ । त्यसको स्थानमा विकास र स्थायित्वको एजेन्डाले ओगटेको देखिन्छ । विश्लेषक तिवारी भन्छन्, ‘भारतमा जस्तो हाम्रोमा हिन्दु धर्मलाई थ्रेट छैन । बिहार र उत्तराखण्डमा भाजपाको परिणाम नआइ कर्नाटकको नतिजामात्र हेरेर भन्न सकिन्न । फेरि, कर्नाटकमा जितेको भएपनि र भाजपाले हिन्दु राष्ट्र बनाउने लक्ष्य लिएको भएपनि सम्भव छैन ।’

यस्तै, स्वतन्त्र सांसद सिंह पनि आरएसएसको नेपाललाई हिन्दु राष्ट्र बनाउने सोचमा प्रश्न गर्छन् । ‘न भारत हिन्दु राष्ट्र हुनसक्छ, न नेपाल हिन्दु राष्ट्रमा फर्किन सक्छ, उनले भने, ‘यदी भारतले नेपाललाई हिन्दु राष्ट्रमा फर्काउन चाहेको हो भने पहिले आफ्नो देशलाई हिन्दु राष्ट्र बनाएर देखाओस् ।’

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १७:४२
Weather Update