
काठमाडौं— नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले शीर्ष तीन दलका नेताहरूबीचको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणबारे अनौपचारिक छलफल भएको बताएका छन् ।
बालुवाटारमा आइतबार बिहान बसेको शीर्ष दलका नेताहरूको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणले प्रवेश पाएको हो । उपनेता नेम्वाङले नक्कली भुटानी शरणार्थी प्रकरणमा चलिरहेको अनुसन्धानलाई सघाउने गरी शीर्ष नेताहरूबीचमा छलफल भएको बताए ।
शीर्ष नेताहरूले संविधान र कानुनअनुसार काम कारबाही अघि बढाउन बैठक बसेको कुनै हस्तक्षेप नहुने बताएको जानकारी दिए ।
‘प्रसंगवश यो विषय उठेको थियो, वर्तमान अवस्था, तपाईंंहरू तीन नेता त बस्ने बित्तिकै भुटानी शरणार्थीको बारेमा छलफल गर्न बस्यो, भनेर चर्चा हुन्छ के हो भनेर हाँस्दै सोध्ने मान्छे मै हो,’ उनले भने, ‘मैले तपाईंंहरूको तर्फबाट सोधेको हो, प्रधानमन्त्रीज्यू र नेताहरूलाई । तपाईंहरू तीन जना नेता त जुनसुकै बेला बसिरहनुपर्छ, एक ठाउँमा बस्नु अचम्मको कुरा होइन, तर, यो विषयलाई लिएर एउटा चासो छ, कथंकदाचित सोधिहाले भने हामी तीन दलको बीचमा एउटा समझदारी छ, हामी तीन दल निस्कर्षमा छौँ, त्यो संविधान कानुनबमोजिम निस्कर्षमा पुगोस् भन्ने चाहना हो, त्यही कुरा भनिदिए हुन्छ भन्ने जवाफ आएको छ ।’













