काठमाडौं— कुनैबेला अध्यक्ष केपी शर्मा ओलीको कटु आलोचक रघुजी पन्त अहिले एमालेको ‘विशेष’ भूमिकामा छन् । ‘नेकपा काल’मा ओलीको राजीनामा माग गर्न पछि नपरेका पन्त अहिले एमालेको प्रतिरक्षामा अघि सर्छन् ।
त्यसबेला पन्तले ओलीविरुद्ध दिएका अभिव्यक्तिको लामै फेहरिस्त बन्छ । उनले ओलीका कारण पार्टी नसच्चिएको आरोप लगाए । पार्टी एक नहुने अभिव्यक्ति दिए । ओलीकै विरोध गर्न राष्ट्रिय सभा सदस्य कोमल वलीमाथि स्त्रीद्वेसी ‘लाञ्छना’ लगाए । यद्यपि पछि माफी मागे पनि मुद्दा खेपेका छन् ।
२७ वैशाखको प्रतिनिधि सभाको बैठक पन्तले नागरिकता विधयेक संसद्मा दर्ता गरेर छलफल गराउन आग्रह गर्दै सत्ता गठबन्धनको दबाबमा राष्ट्रपतिबाट जारी गराउन षड्यन्त्र भइरहेको भन्दै त्यसो गरेमा एमालेलाई स्वीकार्य नहुने बताए ।३ वैशाखको प्रतिनिधि सभाको बैठकमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद्बाट बेपत्ता कटाक्ष गरे । गत २९ माघको प्रतिनिधि सभाको बैठकमा सांसद पन्तले राष्ट्रपतिको सवारीको क्रममा भएको घटनाको जिम्मा सरकारले लिनुपर्ने बताएका थिए । त्यतिबेला राष्ट्रपति विद्यादेवी भण्डारी थिइन् । भण्डारी राष्ट्रपति हुनुअघि एमाले उपाध्यक्ष थिइन् ।
यी केही उदाहरण हुन् एमालेको प्रतिरक्षा गर्न संसद्मा सांसद पन्तको अभिव्यक्तिको । यसरी पन्तले संसदमा एमालेको बचाउ गर्ने गरेका छन् ।
पन्तको संसदीय यात्रा
पन्त एमालेका पुराना नेता मध्ये एक हुन् । उनी २०५१ र २०५६ सालमा ललितपुर ३ बाट निर्वाचित भएका थिए । २०६३ को पुर्नस्थापित अन्तरिम संसद्मा पनि सांसद थिए । तर, २०६४ र २०७० सालको संविधान सभा चुनावमा उनी पराजित भए ।
२०७४ सालको निर्वाचनमा वाम गठबन्धन भएपछि पन्तले ललितपुर ३ माओवादी नेतृ पम्फा भुसाललाई छोडिदिए । भुसाल विजयी पनि भइन् ।
२०७९ सालको निर्वाचनमा उनी एमाले समानुपातिक सांसद बने ।
गठबन्धन हुँदै माओवादी र एमालेबीच पार्टी एकता भयो । उनी माधव नेपाल पक्षमा खुले । ओली विरोधीको पहिचान बनाए । अदालतको आदेशबाट दुई पार्टी फरक भए । एमालेभित्रको किचलो यत्तिकैमा सकिएन । माधव–झलनाथ समूह छुट्टियो । तर, माधव नेपालका विश्वास पात्र मानिने पन्तले नेपाललाई अविश्वास गरे, ओलीको शरण परे । त्यसैको फरस्वरूप गणतन्त्र स्थापनापछि पुनः संसद् प्रवेशको मौका पाए । त्यो पनि समानुपातिकमा खस आर्य क्लसटरबाट ।
पन्त प्रत्यक्षमा सिफारिस नभएका होइनन्, तर, समानुपातिकमै बसे । उनी काठमाडौं ७ बाट विद्यासुन्दर शाक्य, श्याम कुमार घिमिरे, विपी ढकाल र इन्दिरा पन्तसहित उनको नाम पनि सिफारिस भएको थियो । यहाँ घिमिरेले बाजी मारे । पन्तले जोड गरेनन् । उनको परम्परागत क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)की तोसिमा कार्की लहर आइरहेको थियो । अनुभवी राजनीतिकर्मीलाई थाहा नहुने कुरा भएन, उनी जोगिए ।
पन्तलाई किन ‘स्पेस’ ?
प्रतिनिधि सभामा एमालेका ७८ सांसद छन् । तर, संसद्को हरेकजसो बैठकमा एमालेका तर्फबाट पन्तले बोल्ने गर्छन् । अहिले पार्टीभित्र नेता पन्तले पाइरहेको ‘स्पेस’ चासोको विषय बनेको छ ।
एमाले नेताहरू पन्तको अनुभव, अध्ययनशीलता र क्षमता नै यसको कारक बताउँछन् । तर, कतिपयले भने उनी एमालेमै बस्नुलाई एमाले अध्यक्ष ओलीसँग गोप्य ‘डिल’ भएको हुनसक्ने आशंकासमेत गर्छन् ।
पन्तलाई नजिकबाट चिन्ने केही नेता भने विगतमा नेपाल समूहका ‘कोर टिम’भित्र रहेकाले पनि उनको भूमिका सक्रिय बनाइएको हुनसक्ने बताउँछन् ।
‘संसद्मा सांसदले आफ्नो भूमिका आफ्नै प्रस्तुतिले बनाउने हो । उहाँ विषयवस्तुको अध्ययन र प्रस्तुतिमा राम्रो दख्खल राख्ने नेता हो,’ एक नेताले भने, ‘तर, उहाँलाई विगतमा माधव नेपाल समूहका खास मान्छे भएकाले त्यताबाट आएको नेतालाई भूमिका दिउँ भनेर दिइएको पनि हुनसक्छ ।’
ओली पक्षीय नेताहरू पनि उनको क्षमतालाई स्वीकार गर्छन् । एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले संसदीय भूमिकामा पुरानो तथा अनुभवी नेता भएका हिसाबले नेता पन्तले समसामयिक विषयमा तत्काल प्रतिक्रिया दिने गरेको बताए ।
‘एक्सनको तत्काल रियाक्शन गर्ने चातुर्यता उहाँमा देखिन्छ । त्यो उहाँको ज्ञान, अनुभवले हो । सिनियर नेता भएको कारणले हाम्रो अध्यक्षज्यूले के भन्नुभयो भन्दा पनि उहाँ आफैँले पनि अलिकति छिटो आफैँ प्रस्तुतीकरण दिनुहुन्छ,’ बर्तौलाले पन्तको अध्यक्षसँग ‘विशेष’ सम्बन्धलाई नकार्दै भने ।
पन्तलाई केही कुरा गर्नका लागि छेकबार नभएको बर्तौलाको भनाइ छ । अध्ययनले नै मान्छेलाई तीक्ष्ण बनाउने भन्दै उनले गहिराइमा पुगेर अध्ययन गर्ने नेता पन्तको राम्रो बानी रहेको बताए ।
कञ्चनपुर १ बाट निर्वाचित सांसद तारा लामा तामाङ पनि बर्तौलासँग सहमत छन् । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने एमाले सांसदमध्ये अलि अनुभवी भएकाले पन्तलाई पार्टीले बढी भूमिका दिएको उनको भनाइ छ ।
एकीकृत समाजवादीमा गएर चुनाव लड्न एमाले फर्केका लामाले भने, ‘संसद्मा बोल्ने सन्दर्भमा अध्यक्ष कमरेड विशेष समय, विशेष परिस्थितिमा बोल्नुहुन्छ । उपनेता कमरेड पनि संसदीय जिम्मेवारीमा अलि बढी व्यवस्त रहनुपर्ने हुन्छ । त्यसैले उहाँ (रघुजी पन्त) संसद्मा अलि सिनिरय नेता हुनुहुन्छ । सिनियर नेता, अनुभवी पनि भएकाले उहाँलाई अलि बढी भूमिका दिएको हुनसक्छ ।’
पन्तसँगै एमाले बस्नेहरू
पार्टीभित्रको विवाद सुल्झाउन भन्दै तत्कालीन नेकपामा माधव नेपाल पक्षधर नेताहरूका तर्फबाट भीम रावलको नेतृत्वमा र केपी ओली पक्षका तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा कार्यदल गठन गरिएको थियो ।
उक्त कार्यदलले २७ असार २०७८ मा १० बुँदे सहमति गरेका थिए । कार्यदलले गरेको सहमति पालना नभएको भन्दै ४ भदौ २०७८ मा माधवकुमार नेपालले एमाले फुटाएर नेकपा एकीकृत समाजवादी गठन गर्दा उनीहरू भने एमालेमै बसेका थिए ।
१० बुँदे सहमति गरेर एमालेमै बसेका नेपाल पक्षका नेताहरू भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य, योगेश भट्टराई, रघुजी पन्त, अमृतकुमार बोहरामध्ये अहिले घनश्याम भुसालले एमाले छाडिसकेका छन् ।
भुसाल गत ४ मंसिरमा भएको निर्वाचनमा टिकट नपाएपछि एमाले परित्याग गरी स्वतन्त्र चुनाव लडेका थिए । तर, सत्ता गठबन्धनको समर्थनमा पनि चुनाव जित्न नसकेपछि अहिले उनी नेकपा एकीकृत समाजवादी प्रवेश गरी महासचिव बनिसकेका छन् ।
भीम रावल भने १०–१२ मंसिर २०७८ मा चितवनमा सम्पन्न भएको नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशमा केपी ओलीविरुद्ध अध्यक्ष उठेर पराजित भएका थिए । त्यसयता उनी पार्टीमा सक्रिय छैनन् । तर, एमाले भने छाडिसकेका छैनन् । बाँकी आठ नेताहरू भने अहिले एमालेमै छन् ।