
काठमाडौं— माओवादी धारका दलहरुले शान्ति प्रक्रियालाई छिटोभन्दा छिटो टुंग्याउनुपर्ने र शान्ति प्रकियाका पक्षमा निरन्तर अभियान जारी राख्ने बताएका छन् । शुक्रबार बिहानको बैठकले शान्ति प्रक्रियालाई स्थापित गर्ने प्रक्रियाहरु अघि बढाउन संयुक्त रुपमा अन्तरक्रियाका कार्यक्रमहरु गर्ने निर्णय गरेको छ ।
बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गरी शान्ति प्रक्रियाको उल्लंघन गर्ने खालका प्रवृत्तिहरुको खण्डन गर्ने बताए । फागुन ३० गते नागरिक समाज, बुद्धिजीविसँग शान्ति प्रक्रियाका बारेमा अन्तरक्रिया गर्ने उनले बताए ।
महासचिव गुरुङले पछिल्लो समय शान्ति प्रक्रियाको उल्लंघन गर्ने प्रवृत्ति देखिएकोप्रति आपत्ति जनाए । प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध दर्ता भएको रिट अदालतको कानुनी प्रक्रिया अनुसार अघि बढ्ने उनले बताए । ‘आदालतको कुरा कानुनी प्रक्रियाअनुसार नै अघि जान्छ । शान्ति प्रक्रिया उल्लंघन गर्ने, उल्ट्याउने, खालका जुन प्रवृत्तिहरु देखिएका छन्, त्यो प्रवृत्तिका बारेमा सजग र सतर्क सबै भएका छन्,' महासचिव गुरुङले भने, 'शान्ति प्रक्रियालाई उल्ट्याउन खोजेको नै हो भने शान्ति प्रक्रिया समाप्त भयो भन्न खोजेको हो भने अर्कै कुरा हुन्छ । शान्ति प्रक्रियाको पक्षमा र शान्ति प्रक्रियालाई छिटो भन्दा छिटो सम्पन्न गर्नुपर्छ भन्ने पक्षमा नै निरन्तर अभियान जारी राख्नुपर्छ भन्नेकुरा भएको छ ।’
यस्तै, महासचिव गुरुङले उपराष्ट्रपतिमा लैंगिक रुपले फरक र सामुदायिक फरक हुनुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताए । ‘उपराष्ट्रपतिमा जसले सिफारिस गरेको भएपनि संविधानतः राष्ट्रपति र उपराष्ट्रपतिको बीचमा लैंगिक रुपले फरक र सामुदायिक फरक भन्ने छ । अभ्यास हामीले के बसाल्ने प्रक्रियाको सुरु गरियो भने एउटा पुरुष भए अर्को महिला हुनुपर्छ भन्ने मान्यता बसिसकेको छ,' उनले भने, 'नेपालको अहिलेको अवस्था स्थिति सबैतिरबाट हेर्दा फरक समुदायको महिला नै भए बेस हुन्थ्यो । हामीले परामर्श दिनुपर्दा लैंगिक रुपले फरक हुनुपर्छ । महिला दिादा राम्रो हुन्छ ।'
महासचिव गुरुङले उपराष्ट्रपतिको निर्वाचन सकिएसँगै निर्वाचन आचारसंहिता सकिने भएकाले ५ गतेपछि मात्रै सरकार बिस्तार हुने बताए ।













