
काठमाडौं— नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको आरोपमा हालसम्म पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १२ जना पक्राउ परेका छन् ।
उनीहरूविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ । सरकारी वकिलको रोहबरमा प्रहरीले आइतबार खाणको बयान लिने तयारी गरेको छ । खाणसहित प्रहरीले तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, एमाले नेता रामबहादुर थापा गृहमन्त्री हुँदा उनको सुरक्षा सल्लाहकार बनेका डा. इन्द्रजितराई लगायतलाई पक्राउ गरेको छ ।
तर, अदालतबाट पक्राउ पुर्जी जारी भएर पनि एमालेका निलम्बित सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी १२ दिनदेखि फरार छन् । रायमाझी गृहजिल्ला अर्घाखाँचीमा रहेको बेला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएकै दिनबाट उनी सम्पर्कविहीन भएका हुन् । आफैँ प्रहरी कार्यालयमा उपस्थित हुने भन्दै उनले प्रहरी अधिकारीलाई सम्पर्क गरेका थिए । प्रहरी कार्यालयमा उपस्थिति हुन्छु भनेको पनि आइतबार एक साता भइसक्यो ।
रायमाझीको खोजीको लागि प्रहरीको विशेष टोली परिचालन भइसकेको छ । नेपालमा मात्रै नभएर रायमाझीको भारतमा समेत प्रहरी टोलीले खोजी गरिरहेको छ । रायमाझीको बचाउमा उत्रेका एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्ततः अनुसन्धान प्रक्रियामा असहयोग गरेको बहानामा सचिव पदबाट निलम्बन गरेका हुन् ।
बिचौलिया केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल, सन्दीप रायमाझी, सागर राईलगायत प्रहरी हिरासतमा छन् । सन्देश यो प्रकरणका मुख्य नाइके हुन् । अहिलेसम्म उनीहरूविरुद्ध २० वटा जाहेरी परेको छ । १ सय ५४ जना पीडित प्रहरीको सम्पर्कमा छन् । ८१ जना पीडितहरूबाट १३ करोड ६३ लाख रुपैयाँ ठगी गरेको उजुरीको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाउन र अनुसन्धानलाई निष्कर्षमा पुर्याउन सरकारलाई दबाब छ । सर्वसाधारण र नागरिक अगुवाको नेतृत्वमा भ्रष्टाचार विरोधी अभियान देशव्यापी भइरहेको छ । शनिबार देशका विभिन्न स्थानमा प्रदर्शन गर्दै सर्वसाधारण र नागरिक अगुवाले सरकारलाई खबरदारी गरे । यस्तै सुशासनको पक्षमा उनीहरूले ऐक्यबद्धता जनाए । नक्कली शरणार्थी प्रकरणमा ठूला नेता पक्राउ पछि प्रमुख दलका शीर्ष नेताको म्याराथन भेटघाट भइरहेको छ । आइतबार बिहानै पनि प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भेटघाट भयो । नक्कली भुटानी शरणार्थीको विषयमा अनुसन्धान भइरहेका बेला तीन दलका शीर्ष नेताहरूको भेटघाटलाई चासोका साथ हेरिएको छ ।