
काठमाडौं— राष्ट्रिय सभा सांसद एवम् पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले कालापानी, लिपुलेक र लिम्पियाधुराबाट भारतले तत्काल आफ्ना सुरक्षाफौज र कर्मचारी फिर्ता लैजानुपर्ने बताएका छन् ।
सांसद गौतमले सो नेपाली भूभाग कुनै पनि हालतमा नेपालले फिर्ता लिनैपर्ने पनि बताए । भारतले नेपालको धेरै भूगोल मिचेको उल्लेख गर्दै उनले त्यो भूभाग फिर्ता लिन नेपाललाई अन्तराष्ट्रिय कानुनहरूले पनि सहयोग गर्ने उल्लेख गरे ।
नेपालको सिंगो संसद्मा सबै राजनीतिक दलहरूको सर्वसम्मतिले पारित गरेर नेपालले आफ्नो नक्शामा समावेश गरेको कुरा विश्वलाई नै जानकारी भएको उल्लेख गर्दै सांसद गौतमले त्यसमा भारतले मिचाहा प्रवृत्ति देखाउन नमिल्ने पनि पटकपटक दोहोर्याए ।
शनिबार काठमाडौंमा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र डा. अच्युत गौतमद्वारा संयुक्त रूपमा लिखित पुस्तक ‘नेपाल इन्डिया फ्रन्टिअर डिप्लोमेसी इन रेफरेन्स टु काली रिभर : पर्सपेक्टिभ्स अफ इन्टरनेशनल ल’ को बिमोचन कार्यक्रममा उनले सो भूभाग नेपालको हो भन्ने कुरामा कुनै दुविधामा पर्न नहुने स्मरण गराए ।
सांसद गौतमले नेपाल कहिल्यै कसैको अधीनमा नरहेको चर्चा गर्दै आफ्ना मिचिएका भूभागहरू फिर्ता लिएरै छोड्ने समेत बताए ।













