काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एउटा काण्डको छानबिन गर्दैमा सरकारको नै सफलता भन्न नसकिने बताएका छन् ।
शनिबार काठमाडौंको नक्शालमा नागरिक अगुवाहरू मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध वृहत् आन्दोलनमा पत्रकारहरूसँग कुरागर्दै सभापति लामिछानेले भने ‘एउटा काण्डको अनुसन्धान खोल्दैमा सरकारलाई नै सफल भन्दा अलि धेरै हुन्छ । त्यति धेरै पनि नलिऔँ होला ।’
‘धेरै काण्डहरू लाइनमा छन् । ती काण्डहरू पनि अनुसन्धान हुन् । अनि हेर्छौँ । सरकारले यसलाई सुरुवात विन्दु मानेको हो भने स्याबास सरकार तर, यो रोकिनु भएन,’ उनले थपे ।
उनले कुनै पनि पार्टी र पार्टीका शीर्ष नेताहरूले कसैले पनि विषयान्तर गर्न नहुने बताए । आफ्नो दलको लागि दोषीलाई बचाउने, छेक्ने, ढाँट्ने नगर्न आग्रह गरे ।
सभापति लामिछानेले सरकारले भ्रष्टाचार गर्ने पूर्वगृहमन्त्रीहरूलाई समेत कारबाहीको दायरामा ल्यायो भन्ने नजिर अन्तर्राष्ट्रिय देशलाई देखाउनु राम्रो भएको बताए ।
‘नेपालले भ्रष्टाचार गर्ने पूर्वगृहमन्त्रीहरूलाई समेत कारबाहीको दायरामा ल्यायो भन्ने नजिर अन्तर्राष्ट्रिय देशलाई देखाउनुपर्छ । देशको बेइज्जत होइन भ्रष्टाचार गर्नेहरूको उजागर भयो,’ उनले भने, ‘विभिन्न देशका पूर्वप्रधानमन्त्रीहरू हतकडी लाएर झेल गएको देखेका छौैँ । यो देशको बेइज्जत भएको होइन यो देशको इज्जत बढ्यो ।
‘पूर्वप्रधानमन्त्रीहरूलाई हतकडी लगाएर जेलमा कोच्ने देशहरूको नजिर नेपालले लिन सक्नुपर्ने उनको भनाइ छ ।पूर्वप्रधानमन्त्रीहरूलाई हतकडी लगाएर जेलमा कोच्ने देशहरूको नजिर नेपालले लिने हो । गलत छन् भने हेर्ने होइन प्रमाणित गर्ने कोशिस होला । जो–जो मुछिए पनि समाएर अनुसन्धानको दायरामा ल्याउने कसैलाई पनि छोड्ने होइन ।’