
काठमाडौं— नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बहुमतको स्थिर सरकार नभएका कारण निष्पक्ष छानबिन हुने कुरामा आशंका उब्जिएको बताएका छन् ।
नागरिक अगुवाहरू मिलेर शनिबार काठमाडौंको नक्शालमा सुरु गरेको भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध वृहत आन्दोलनमा सहभागी हुँदै उनले जनताले यसैगरी खबरदारी गरिरहे भ्रष्टाचारीहरू बच्न नसक्ने बताए ।
‘आफू अपराधी छैन भने भाग्नु पर्दैन, भागेपछि बेठिक भयो । सडक, सदन र सरकारबाट नै नागरिकले खबरदारी गर्नुपर्छ । हामीले खबरदारी गरिरहे भ्रष्टहरु छुट्दैनन् । हामीले यो गर्नसके राजनीतिक शुद्धिकरण र सुशासनको दिशामा जान सकिन्छ,’ उनले भने, ‘अहिलेको निर्वाचन प्रणालीले बहुमत हुन पुग्दैन, अस्थिर सरकार त्यसैले आफ्नो सरकार जोगाउनका लागि कार्यकारी प्रमुखले दह्रोसँग कमद चाल्न सक्दैन । आशंका छ । राज्यको शासकीय स्वरूप र निर्वाचन प्रणालीमा त्रुटि छ ।’
आन्दोलनमा सहभागी हुन पुगेका पूर्वप्रधानमन्त्री डा. भट्टराईप्रति नागरिकहरू खुशी थिएनन् । उनीहरूले यस्ता गतिविधिमा डा. भट्टराई र उनकी पत्नी एवम् पूर्वमन्त्री हिसिला यमीको पनि संलग्नता रहेको भन्दै विरोध जनाएका थिए ।
एक प्रदर्शनकारीले भने, ‘भूटानी शरणार्थी भएर बाध्यकारी अवस्था सिर्जना गर्ने भनेको बाबुराम भट्टराई र हिसिला यमीहरू हुन् । यिनीहरूको विरुद्धमा जनता जाग्नुपर्छ ।’
भुटानी शरणार्थी प्रकरणलाई भित्रभित्रै मिलाउन खोजिएको भन्दै नागरिकहरुले विरोध गर्दै आइरहेका छन् । भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणको संलग्न रहेको भन्दै प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । जसमा खाण अनुसन्धनार्थ थुनामा छन् भने रायमाझी फरार छन् । साथै सरकारले भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन हुने आश्वासन दिँदै आएको छ । नागरिकहरू भने निष्पक्ष छानबिनमा दबाब पर्नसक्ने भन्दै सडक आन्दोलनमा उत्रिएका छन् ।













