काठमाडौं— पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली भूभागको विषयलाई व्यवहारिक निष्कर्षमा लैजान काली नदीको मुहानका बारेमा फेरि महत्वका साथ स्मरण गर्नुपर्ने बताएकी छन् ।
‘नेपाल इन्डिया फ्रन्टायर डिप्लोमेसीइन् रिफ्रेन्स टु काली रिभर : प्रस्पेक्टिभस् अफ इन्टरनेशनल’ पुस्तक विमोचन कार्यक्रममा उनले दुई देशको सीमाको सबैले सम्मान गर्नुपर्ने बताइन् । उनले देशको नक्सामा संसद्ले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समावेश गरेर त्यसलाई संविधानको अंग बनाएपछि मुलुकको सार्वभौमिकता र राष्ट्रिय एकताका सन्दर्भमा नयाँ चेतनाको सञ्चार भएको बताइन् ।
‘दुई देशको सीमाको सबैले सम्मान गर्नुपर्छ, कालापनी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग हुन्,’ उनले भनिन्, ‘हाम्रो देशको नक्सामा संसद्ले कालापानी लिपुलेक र लिम्पियाधुरालाई समावेश गरेर त्यसलाई संविधानको अंग बनाएपछि मुलुकको सार्वभौमिकता राष्ट्रिय एकता र राष्ट्रियताका सन्दर्भमानयाँ चेतनाको सञ्चार भएको छ ।’
‘नेपाली भूभागको यस विषयलाई व्यवहारिक निष्कर्षमा लैजान काली नदीको मुहानका बारेमा इतिहासका प्रसंगलाई फेरि हामीले महत्वका साथ स्मरण गर्नुपर्छ’ उनले भनिन् ।
पूर्वराष्ट्रपति भण्डारीले नेपालजस्तो देशको लागि नदी आर्थिक विकासको एउटा महत्वपूर्ण साधन भएको भन्दै यसलाई दिगो रूपमा विद्युत् उत्पादन, आधुनिक सिँचाइ र पर्यटकीय आकर्षकको थलो बनाउन सक्नुपर्ने बताइन् । नदीको सही उपयोगले मुलुकलाई सामाजिक र आर्थिक रूपले सम्पन्न तुल्याउन सकिने पनि उनको भनाइ छ ।
उनले पुस्तकको समीक्षा गर्दै लेखकहरूले भविष्यमा यस्ता अध्ययनमूलक सामग्रीहरू पाठकहरु समक्ष ल्याउने अपेक्षा लिएको भन्दै यस्तो अध्ययनमूलक पुस्तकबाट राष्ट्रले लाभ पनि लिनसक्ने बताइन् ।
कुटनीति र राजनीतिबीचको सीमारेखा छुट्याउन नसक्ने हो भने आपसी विश्वास निमार्ण गर्न नसकिने मात्र नभइ भएको विश्वास पनि संकटमा पर्न सक्ने हुदाँ यसलाई गम्भीर भएर हेर्नुपर्ने उनको भनाइ छ ।