
काठमाडौं— संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पशुपति क्षेत्रको सबै भौतिक तथा चल अचल सम्पत्तिको लेखाजोखा गर्ने घोषणा गरेका छन् ।
शनिबार पशुपति क्षेत्रमा आयोजित सरसफाइ तथा वृक्षारोपण कार्यक्रममा उनले पशुपतिको सम्पूर्ण सम्पत्ति छानविनका लेखा जोखा गर्न छिट्टै शक्तिशाली सम्पत्ति खोजबिन समिति गठन गर्ने घोषणा गरेका हुन् ।
पशुपति क्षेत्रमा देखिएका भ्रष्टाचार लगायतका विभिन्न सामाग्री हिनामिना भएको देखि भूमाफियाले गरेको जग्गा हिनामिनासम्मको घटनालाई व्यवस्थित खोजबिनका लागि छिट्टै खोजबिन समिति बनाएर लाग्ने किरातीको भनाई छ । ‘शक्तिशाली छानबिन आयोग म बनाउँछु । पशुपतिको सारा भौतिक सम्पत्तिलाई लेखाजोखा गर्नको निम्ति र यसलाई खोजबिन गर्नको लागि अब चाडैनै सम्पत्ति खोजबिन समिति बनाउँछु’, मन्त्री किरातीले भने ।
पशुपति क्षेत्रको सबै सम्पत्तिको व्यवस्थित खोजबिन गर्न समिति बनाउँदा आफ्नै मन्त्री पद गए पनि प्रवाह नगरी काम गर्ने उनको भनाई छ ।
उनले पशुपति क्षेत्रको जग्गा भाडामा लगाउने कुरामा भएको आर्थिक हिनामिनादेखि विकास कोषले सटर भाडामा लगाउँन गरेको सम्झौताको समय सापेक्ष पुनरावलोकन गर्ने बताए ।
‘समय सापेक्ष पुनरावलोकन गर्नुपर्छ भनेर नै कतिपय संस्था विभाग र निकायहरूलाई गम्भीर प्रकृतिको राष्ट्र हितमा प्रश्न सहित सोधखोज गरिरहेका छौं’, मन्त्री किरातीले भने ।
उनले पशुपति विकास कोषमा देखिएको दानव प्रवृत्तिको विरुद्ध सरसफाइ अभियान सुरु गरिएको बताए ।













