चैत्र १२ गतेअगावै निर्वाचन सम्पन्न गर्न निर्देशन

काठमाडौं— त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपति कार्यालयले आइतबार स्ववियु निर्वाचन हुन नसकेको क्याम्पसहरूमा चैत्र १२ गतेअगावै निर्वाचन सम्पन्न गराउन निर्देशन दिएको छ ।
उपकुलपति धर्मकान्त बाँस्कोटाले विज्ञप्ति जारी गरेर स्ववियु चयन गर्न सफल क्याम्पसलगायत, पदाधिकारी, प्राध्यापक, विद्यार्थीलाई धन्यवाद दिँदै १२ गतेदेखि परीक्षा सञ्चालन गर्ने कार्यतालिका रहेकोले त्यसअघि नै स्ववियु निर्वाचन सम्पन्न गर्न निर्देशन दिएका हुन् ।
आइतबार काठमाडौंका ७ सहित देशभरका केही क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेन । ‘स्ववियुलाई हारजित नसम्झी, आपसी समझदारी गरी विद्यार्थीको हकहितलाई केन्द्रमा राखेर निर्वाचन प्रक्रियालाई सम्पन्न गर्न अनुरोध गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।
निर्वाचन निर्देशिकामा वैशाख ५ गतेसम्म निर्वाचन गराउन सकिने व्यवस्था गरिएको छ ।
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९ २२:०३













