News Griha :: न्यूजगृह
जनकपुरधाममा राती पनि बजार सञ्चालन गर्न व्यापारीहरूको माग

जनकपुर—  जनकपुरधाम उद्योग वाणिज्य संघले धनुषाका प्रमुख जिल्ला अधिकारीलाई राती पनि बजार सञ्चालनको माग राख्दै ज्ञापन पत्र बुझाएको छ । 

जनकपुरधाम उपमहानगरपालिकाको शहरी बजार क्षेत्रमा राती १२ बजेसम्म पसल र व्यवसाय सञ्चालनका लागि सुरक्षा व्यवस्था मिलाइदिन माग गर्दै संघले ज्ञापन पत्र बुझाएको हो । 

ज्ञापनपत्रमा खुला सिमा रहेका कारण नेपालमा भारतीय पर्यटकहरूको आगमनमा वृद्धि भइरहेको स्मरण गराउँदै जनकपुरधाम शहरी क्षेत्रमा १२ बजेसम्म पर्यटकका लागि आवश्यक पर्ने होटल, रेष्टुरेन्ट, किराना पसल, फलफूलसहितका पसलहरू खोल्नका लागि सुरक्षाको प्रबन्ध मिलाइदिने माग रहेको छ । 

जनकपुरधाम धार्मिक पर्यटनको केन्द्र रहेकाले पर्यटक नै असुरक्षित र असन्तुष्ट भए व्यापार घाटा हुने भएकाले सुरक्षा प्रबन्धको मागसहित संघका अध्यक्ष जितेन्द्र महासेठ र महासचिव मनोज कुमार साहद्वारा हस्ताक्षरित ज्ञापन पत्र बुझाइएको हो।
 

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  ०७:०२
Weather Update