
काठमाडौं— परराष्ट्रमन्त्री एनपी साउद र उनका भारतीय समकक्षी डा.एस जयशङ्करबीच भेटवार्ता भएको छ । छैटौँ हिन्द महासागर सम्मेलनमा भाग लिन बङ्गलादेशको ढाका पुगेका उनीहरूबीच शुक्रबार भेटवार्ता भएको बङ्गलादेशस्थित नेपाली दूतावासले जनाएको छ ।
दुवै मन्त्रीले नेपाल–भारत सम्बन्धको उत्कृष्ट अवस्थाप्रति सन्तोष व्यक्त गर्दै व्यापार, पारवहन, कनेक्टिभिटी, जलविद्युतलगायतका क्षेत्रमा सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेका थिए ।
परराष्ट्रमन्त्री साउद बङ्गलादेशको ढाकामा भइरहेकाे छैटौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन शुक्रबार दिउँसो त्यसतर्फ प्रस्थान गरेका थिए ।
‘शान्ति, समृद्धि र उत्थानशील भविष्यका लागि साझेदारी’ भन्ने नाराका साथ हुन लागेको उक्त सम्मेलनमा उनले शनिबार सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री र उनी नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी र बङ्गलादेशको परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीले स्वागत गरेका थिए ।













