News Griha :: न्यूजगृह
‘छोरी पढाऔँ : गरिमा बढाऔँ’ आह्वानसहित ६७ बालिकालाई छात्रवृत्ति

सुर्खेत— मानव अधिकार तथा शान्ति समाजले कर्णाली प्रदेशका विकट हिमाली जिल्ला हुम्ला, जुम्ला, कालीकोट र मुगुका विपन्न दलित समुदायका ६७ बालिकालाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

यसै शैक्षिक सत्रदेखि प्रदान गरिने तीनवर्षे छात्रवृत्ति अभियानका क्रममा ६ कक्षामा अध्ययनरत ६७ बालिकालाई हरेक वर्ष १२ हजार छात्रवृत्ति प्रदान गरिने समाजका सभापति रामकृष्ण बरालले जानकारी दिए ।

‘छोरी पढाऔँ : गरिमा बढाऔँ’ भन्ने आह्वानसहित शान्ति समाजले २०७८ सालबाट सुरु गरेको पाँचवर्षे बालिका छात्रवृत्ति अभियानको पहिलो चरणमा मोरङ जिल्लाको दुई वटा गाउँपालिकाका ३७ जना विपन्न दलित समुदायका बालिकालाई हरेक वर्ष १२ हजारको छात्रवृत्ति प्रदान गर्दै आएको छ । यससँगै शान्ति समाजले हरेक वर्ष बालिकाहरुलाई प्रदान गर्ने छात्रवृत्ति सङ्ख्या एक सय चार पुगेको छ ।

कर्णाली केन्द्रित तीनवर्षे छात्रवृत्तिका लागि शान्ति समाजका सभापति बरालले दुई र वरिष्ठ उपसभापति कृष्णबहादुर रावल, उपसभापति पुष्पा मल्ल, सचिवहरु लक्ष्मीनारायण मिश्र, अमरबहादुर गौतम, सन्तोष अधिकारी क्षेत्री, प्रकाश शाही, सन्तोष रौनियार, पूर्वसचिव मदनबहादुर कुँवर, केन्द्रीय सदस्यहरु, डिपी खनाल, तुलसीराम सुनार, अरुण ज्ञवाली, ज्योति वाल्मीकि, निर्मला गुरुङ, अनुजा सैँजु, दिवाकर पुडासैनी र प्रतिमा महतोले सहयोग  गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  २०:३१
Weather Update