News Griha :: न्यूजगृह
ट्राफिक बग्गीखानामा सवारीसाधनको थुप्रो, किन फिर्ता लैजान खोज्दैनन् सवारीधनी ?

काठमाडौं— काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथमा अहिले २ हजार ३३ सवारीसाधन ‘डम्प’ गरिएको अवस्थामा छन् । चेकजाँचको क्रममा नियन्त्रणमा लिएका ती सवारीसाधन फिर्ता लिनका लागि प्रहरीले पटकपटक ताकेता गर्दा पनि सवारीधनीहरूले बेवास्ता गर्दै आएका छन् । 

बग्गीखानामा राख्नलाई ठाउँ नपुगेर ट्राफिक प्रहरीले वैकल्पिक ठाउँ खोज्नुपर्ने बाध्यता छ । सवारीधनीले प्रहरी नियन्त्रणमा रहेका आफ्ना सवारीसाधन फिर्ता नलैजाँदा ‘डम्प’ भएका मोटरसाइकल र गाडीहरू ट्राफिक प्रहरीका लागि ‘निल्नु न ओकल्नु’ भएको छ । 

‘यी सवारी साधन वास्तवमा भन्दा हाम्रो लागि घाँडो भन्दा बढ्ता केही होइनन् । न सवारी धनीले फिर्तां लान्छन् न त हामीले यसलाई केही गर्न मिल्छ,’ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले भने, ‘परिसरभित्र थुपारेर राख्नका लागि पनि ठाउँ अभाव भैसकेको छ ।’

baggikhana-sawari-sadhan-ko-thupro-11683886616.jpg

यो काठमाडौंको मात्र नभएर देशभरको समस्या हो । देशभरका ट्राफिक बग्गीखानाहरूमा यसरी नै मोटरसाइकल वर्षौँदेखि कवाडीको रूपमा ट्राफिक प्रहरीले थुपारेर राखेको छ । तर, नीतिगत समस्याका कारण सवारीधनीले फिर्ता नलैजाँदा पनि प्रहरीले ‘डम्प’ गरिएका यस्ता सवारीसाधनहरूलाई न कवाडीमा बेच्न सक्छ, न त पुनः प्रयोगमा ल्याउन सक्छ । सवारी तथा यातायात व्यवस्था ऐन अनुसार नम्बर प्लेटसहित व्यक्तिको सम्पत्तिको रूपमा रहेको सवारीसाधनलाई विविध कारणले नियन्त्रणमा लिएपनि राज्यले पूर्ण रूपमा उपयोग गर्न पाउँदैन । 

सवारी तथा यातायात व्यवस्था ऐन अनुसार ५ वर्षसम्म पनि सवारी नवीकरण नगरेको खण्डमा दर्ता खारेज हुन सक्छ । तर, पुनः दर्ताका लागि सवारीधनीले नवीकरण नगरेको समयावधिभित्रको दस्तुर र जरिबाना तिरेको खण्डमा जहिले पनि सो सवारीसाधन पुनर्दता गर्न सकिने प्रावधान छ । ऐनमा उल्लेख भएको यही प्रावधान ट्राफिक प्रहरीका लागि सबैभन्दा ठूलो बाधा हो । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रवक्ता भट्टले सवारीधनीले फिर्ता नलगेर डम्प भएका सवारीसाधनको व्यवस्थापनका लागि नीतिगत रूपमा सरकारले सम्बोधन गर्नुपर्ने माग भएपनि गृहमन्त्रालयबाट अहिलेसम्म कुनै निर्णय नभएको बताए । ‘हामीले पटकपटक यो विषयलाई लिएर मन्त्रालयको ध्यानाकर्षण गराईरहेका छौँ । तर हालसम्म यससम्बन्धी कुनै नीतिगत निर्णय भइसकेको छैन,’ भट्टले भने । 

बग्गीखानामा गृहमन्त्री श्रेष्ठ 

गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार रामशाह पथस्थित ट्राफिक बग्गीखानाको अवलोकन गरेका छन् । अवलोकनपश्चात श्रेष्ठले बग्गीखानामा डम्प भएका सवारीसाधनको व्यवस्थापनका लागि चाँडै मन्त्रालयले निर्णय दिने बताए । 

baggikhana-sawari-sadhan-ko-thupro-21683887063.jpg

‘सबै अभिलेख मन्त्रालयमा पठाउनुस् । र, के गर्नुपर्ने हो भन्ने विषयमा पनि टिप्पणी उठाउनुहोला । यो समस्यालाई मन्त्रालयको तर्फबाट चाँडै समाधान गर्नेगरी निर्णय हुन्छ,’ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अधिकारीहरूसँग उनले भने । 

श्रेष्ठले देशभरका बग्गीखानाहरूमा थन्किएका सवारीसाधनको लगत उठाएर मन्त्रालयमा पठाउन ट्राफिक प्रहरीलाई निर्देशनसमेत दिएका थिए । ‘सवारीधनीलाई नै आफ्नो सामानको वास्ता छैन भने त केही न केही व्यवस्थापन त गर्नैपर्‍यो नि,’ उनले भने । 

किन फिर्ता लैजान्नन् सवारीधनीले आफ्नो साधन ?

चेकजाँचको क्रममा कैफियत भेटिएमा ट्राफिक प्रहरीले सवारीसाधनहरू नियन्त्रणमा लिन्छ । धेरैजसो ‘डम्प’ भएका यस्ता सवारीसाधनहरू थोत्रो र काम नलाग्ने अवस्थाकै हुन्छन् । 

बग्गीखानामा डम्प भएका अधिकांश सवारीसाधनको नवीकरण नभएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ‘लामो समयदेखि नवीकरण नभएका सवारी साधनहरूको दस्तुर र जरिबानाबापत लाग्ने चर्को शुल्क तिर्नुभन्दा सवारीधनीहरूले आफ्नो साधनकै माया मारेको देखिन्छ,’ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले निष्कर्ष निकालेको छ । 

डम्प गरिएका सवारी फिर्ता पठाउने गरी ट्राफिक प्रहरीले विशेष टिम नै बनाएर काम गरेपनि सवारीधनीहरू सम्पर्क नआउने समस्या अत्यधिक छ । सम्पर्कमा आएका सवारीधनीलाई आफ्नो साधन फिर्ता लैजान अनुरोध गर्दा पनि उनीहरूले बेवास्ता गरेको कार्यालयले जनाएको छ । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १६:०३
समसामयिक
Weather Update