
काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गरेको छ ।
यही चैत्र ३ मा सम्पन्न उपराष्ट्रपतिको निर्वाचनमा रामसहायप्रसाद यादव ३० हजार ३२८ मतभारसहित निर्वाचित भएका थिए ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आज राष्ट्रपति भवन शीतल निवासमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन बुझाएका हुन् ।
सो अवसरमा राष्ट्रपति पौडेलले नेपालको संविधानको भाग २४ धारा २४६ मा संविधान र संघीय कानुनको अधीनमा रही राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसदका सदस्य, प्रदेशसभाका सदस्य, स्थानीय तहका सदस्यको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्नु आयोगको प्रमुख कार्य रहने व्यवस्थाबमोजिम आयोगले ती निर्वाचनहरू स्वच्छ, निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्णरूपमा कुशलतापूर्वक सम्पन्न गरेकामा आयोगलाई धन्यवाद दिए ।













