काठमाडौं— नेपाली राजनीतिमा सधैँ चर्चामा रहने व्यक्तिमा पर्छन् डा. बाबुराम भट्टराई । उनले हालै नेपाल समाजवादी पार्टी (नेसपा) गठन गरेका छन् । सशस्त्र युद्धमा होस् वा शान्ति प्रक्रियापछि भट्टराई सधैँ चर्चामा रहे ।
तर, अहिले भने उनको व्यक्तित्व छायाँमा छ । खासगरी माओवादी त्यागेर वैकल्पिक शक्तिको नेतृत्व गर्न खोज्दा उनको राजनीतिक जीवन ओरालो लागेको हो । वैकल्पिक राजनीतिको नेतृत्व गर्न हिँडेका भट्टराईको पछिल्ला सात वर्ष सुखद् रहेनन् । बौद्धिक छविको ट्याग भिरेका नेता भट्टराईप्रति जनअपेक्षा धेरै नै थियो । पछिल्लो समय उनीबाट नागरिकले उति साह्रो अपेक्षा गरेको देखिन्न ।
विकल्प खोज्दै बाबुराम
४ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा भट्टराईले नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका लागि आफ्नो निर्वाचन क्षेत्र (गोरखा २) दान गरे । माओवादी छोडेको करिब सात वर्षपछि भट्टराईले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा माओवादी अध्यक्षप्रति प्रेम जताए ।
माओवादीकै चुनाव चिह्न लिएर बाबुराम नेतृत्वको पार्टीका उम्मेदवार प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा होमिए । मओवादीसँग चुनावी तालमेल गरेका बाबुरामको भागमा प्रतिनिधि सभातर्फ २ र प्रदेश सभातर्फ ४ सिट पर्यो । जसमा महिन्द्र राय यादव सर्लाही २ बाट निर्वाचित भए । काठमाडौं ७ मा उम्मेदवार बनेकी बाबुरामपुत्री मानुषी यमी पराजित भइन् । गंगानारायण श्रेष्ठ सिन्धुली २ (२) बाट बागमती प्रदेश सभा सदस्य र फणीन्द्र देवकोटा गोरखा २ (१) बाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भए ।
राष्ट्रपति पदसँग गोरखा–२ साटेको चर्चा गत चुनाव ताका भयो । तर, यो कुरालाई प्रचण्ड र बाबुरामले इन्कार गर्छन् । स्रोतका अनुसार बाबुरामले जति नै इन्कार गरेपनि प्रचण्डसँग उनले राष्ट्रपतिका लागि ‘डिल’ गरेका हुन् । तर, राष्ट्रपति भने कांग्रेस नेता रामचन्द्र पौडेल बने ।
कमजोर जनमत, असफल बाबुराम
सातवर्षको अन्तरालमा बाबुरामले वैकल्पिक राजनीतिक अभियान चलाए पनि सफल भएनन् । त्यसपछि उनले समाजवादी केन्द्र बनाउने प्रयास गरे । फेरि पनि असफल भए ।
२०७४ को स्थानीय तह र आम निर्वाचनमा नयाँ शक्तिले आफ्नै अस्तित्वसमेत जोगाउन सकेन । कांग्रेसको वैशाखी टेकेर भट्टराई गोरखाबाट विजयी भए र नयाँ शक्तिले सात प्रदेशमा तीन स्थानमा जित्यो । त्यसपछि अस्तित्व रक्षाका लागि उनले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग २२ वैशाख २०७६ मा नयाँ वैकल्पिक राजनीतिक शक्तिको उदय भएको घोषणा गर्दै पार्टी एकता गरे । त्यसपछि बनेको जनता समाजवादी पार्टी पनि बाबुरामले एक वर्ष नपुग्दै फुटाए ।
माओवादीसँगको सहकार्यलाई आफ्नो अस्तित्व रक्षाका लागि भन्दा पनि गणतन्त्र संस्थागत गर्न र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नका निम्ति भएकोे बताउँछन् बाबुराम ।
‘कांग्रेस–माओवादीसँग यसकारण म सहकार्यमा छु, कि संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नुपर्नेछ । शान्ति प्रक्रियाका कतिपय कामहरू बाँकी छन्,’ उनले न्यूजगृह भने, ‘खासगरी सत्यनिरूपण मेलमिलाप आयोग र द्वन्द्वपीडितहरूका घाउमा मल्हम लाउन बाँकी छ । त्यसलाई पूरा गर्न पुराना दलहरूसँग सहकार्य गर्न बाध्य छु ।’
यद्यपि, बाबुराम अझै आफ्नो मन भने वैकल्पिक राजनीतिमै रहेको दाबी गर्छन् । उनी भन्छन्, ‘वैकल्पिक राजनीतिमा मेरो पूरै मन छ । म यसको प्रतिपादक मान्छे नै हुँ । यी पुराना शक्तिबाट हुँँदैन, वैकल्पिक शक्तिमा जानुपर्छ भन्ने मेरो मान्यता यथावत् छ ।’
बोलीको छैन ठेगान
त्यसो त बाबुरामका अभिव्यक्ति भने फेरबदल भइरहन्छन् । १० वैशाखमा सम्पन्न उपनिर्वाचनको सन्दर्भमा पनि उनले दुईथरि अभिव्यक्ति दिए ।
चितवन २, बारा २ र तनहुँ १ मा भएको उपनिर्वाचनका सन्दर्भमा उनले विज्ञप्ति नै निकालेर सत्ता गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे । खासगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने र स्वर्णिम वाग्लेलाई लक्षित गर्दै उनले भनेका थिए, ‘सिद्धान्तहीन शक्तिले केही गर्न सक्दैन ।’
तर, सोही निर्वाचनको नतिजा सार्वजनिक भएपछि भने उनले नयाँ पार्टीको उदय सकारात्मक कुरा भएको भन्दै निर्वाचित सांसदलाई बधाई दिए । रास्वपाका सभापति रवि लामिछानेलाई बधाई दिँदै उनले भने, ‘नयाँ पार्टीको उदय सकारात्मक कुरा हो । वैकल्पिक नयाँ शक्ति निर्माणमा सहकार्य गरौँ ।’
पछिल्लो समय बाबुरामले शान्ति प्रक्रिया नटुंगेसम्म देशमा स्थायी शान्ति नहुने भएकाले माओवादी, कांग्रेस लगायतका दलसँग सहकार्य गर्दै आएको बताउँदै आएका छन् । खासगरी वैकल्पिक शक्ति निर्माणको बिजारोपण गरेका डा. भट्टराई असफल मात्रै भएनन्, उनको राजनीतिक भविष्य नै अहिले दाउमा छ ।
उनको संघर्षशील राजनीतिक करिअरदेखि उर्वर अवस्थासम्म साथ दिएका सहकर्मीसमेत उनीसँग छैनन् । राजनीतिक जीवनमा निकट रहेर काम गरेका हरिबोल गजुरेल, दिनानाथ शर्मा, देवेन्द्र पौडेल, टोपबहादुर रायमाझी लगायत नेताहरूले बाबुरामको साथ छोडेको धेरै भइसक्यो ।
सशस्त्र युद्धकालमा बाबुरामनिकट रहेकै कारण देवेन्द्र पौडेल, हिसिला यमी, दिनानाथ शर्मालाई प्रचण्डले कारबाही गरेका थिए ।
केही नेता अहिले पनि उनीसँग छन् । तर, उनीहरू डा. बाबुराम भट्टराईले आत्मसमीक्षा गर्नुपर्ने बताउँदै आएका छन् ।
कुनै बेला बाबुरामलाई साथ दिएका नेता डम्मर खतिवडा उनमा चरम अस्थिरता देखिएको बताउँछन् । बौद्धिक भएपनि राजनीतिक दल निर्माण गर्ने क्षमता उनमा नदेखिएको खतिवडाको भनाइ छ ।
‘डा. भट्टराईको बारेमा म यति मात्रै भन्छु कि उहाँमा अस्थिरता चरम देखियो । जुन लेभलमा मान्छेले उहाँलाई बौद्धिक नेता माने । बौद्धिक पनि हो उहाँ । पढेलेखेको सानो उमेरमा पीएचडी गर्नुभएको, अर्थशास्त्रको राम्रो ज्ञान राख्नुहुन्छ । अर्थमन्त्री हुँदा सफल पनि हुनुभाथ्यो,’ खतिवडाले भने, ‘तर, राजनीतिक पार्टी निर्माण गर्ने, त्यो पनि वैकल्पिक धारको राजनीतिक दल निर्माण गर्ने क्षमता उहाँमा देखिएन । उहाँलाई जनताले साथ नदिएको भन्दा पनि उहाँ आफैँ आफ्नो अस्थिरताको सिकार हुनुभयो भन्ने मलाई लाग्छ ।’
यस्तै, कुमार पौडेलका अनुसार राजनीतिमा भट्टराई असफल प्रमाणित भइसके । पौडेलले कुनै समय बाबुरामसँगै काम गरेका थिए ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पौडेल भट्टराई अस्थिर र आत्मकेन्द्रित व्यक्ति भएको बताउँछन् । डा. भट्टराई आफ्नो नजिकका मान्छेहरूको संरक्षण नगर्ने प्रवृत्तिका कारण उनीसँग निकट रहेका नेताहरू अरू कोही पनि साथमा नरहेको उनको दाबी छ । उनले भने, ‘उहाँ (डा.बाबुराम भट्टराई) अस्थिर प्रवृत्तिको आत्मकेन्द्रित नेता हो । बौद्धिकताको ढोङ गर्ने तर, संगठनतिर ध्यान नदिने, आफ्ना मान्छेहरूको संरक्षण नगर्ने नेता भएकाले उहाँसँग अहिले कोही पनि छैन । उहाँ राजनीतिमा असफल हो भन्ने कुरा उहाँले सुरु गरेको नयाँ शक्ति अभियान असफल भएको कुराले पनि प्रमाणित गर्छ ।’
माओवादी नेता खिमलाल देवकोटाका अनुसार माओवादी नछाडेको भए भट्टराई माओवादीको अध्यक्ष बनिसक्थे । पार्टीभित्र राम्रै प्रभाव रहेका बेला डा. भट्टराईले माओवादी छाडेको उनको बुझाइ छ । यद्यपि, देवकोटा पनि भट्टराईसँग माओवादी छोडेर नयाँ शक्ति पार्टीमा गएका थिए । तर, उनी माओवादीमा फर्किए ।
देवकोटाले भने, ‘त्यतिबेला उहाँको माओवादीभित्र राम्रो प्रभाव थियो । पार्टी नछाडेको भए उहाँ अध्यक्ष हुनुहुन्थ्यो । पार्टी भित्रै अन्तरसंघर्ष गरेको भए धेरै नेताहरूको साथ पनि रहिरहन्थ्यो ।’
प्रा.डा. मदन कोइराला पनि बाबुरामलाई कुनैबेला सम्भावना भएको नेताका रूपमा हेरेपनि दृष्टिकोणको अस्पष्टता र अस्थिर स्वभावका कारण राजनीतिमा असफल भएको बताउँछन् ।
‘संयोगले हामी एउटै विश्वविद्यालय पढेका रहेछौँ । एउटा नागरिकका रूपमा म उहाँप्रति एकदम राम्रो सम्भावना देख्थेँ । उहाँ सम्भावना बोकेको नेता हुनुहुन्थ्यो । तर, उहाँमा अस्थिरता देखियो । दृष्टिकोणमा स्पष्टता देखिएन,’ उनले भने, ‘त्यो अस्थिरता र स्पष्ट दृष्टिकोणको अभावमा उहाँको राजनीति नै सकियो कि जस्तो लाग्छ । अब आशा गर्ने ठाउँ बाँकी छ जस्तो लाग्दैन ।’
तर, नेसपाका सह–अध्यक्ष रहेका बागमती प्रदेशका प्रदेश सभा सदस्य नारायण श्रेष्ठ वैकल्पिक शक्ति निर्माण गर्ने भट्टराई समूहको अभियान उपलब्धिमूलक नभएपनि वैकल्पिक शक्तिको विचार भने असफल नभएको दाबी गर्छन् ।
कार्यान्वयनमा जाँदा कार्यशैलीको अभावमा नतिजा दिन नसकेपनि वैचारिक रूपमा विकल्प खोजेको भन्ने कुरा अहिलेको निर्वाचनले पनि स्पष्ट पारेको उनको भनाइ छ । ‘वैचारिक रूपबाट विकल्प खोजेको भन्ने कुरा अहिलेको उपनिर्वाचनबाट पनि पुष्टि त भएको छ । चितवनमा रविजी । मधेसमा सिके राउतजीको नतिजाले पनि प्रमाणित गरेको छ,’ बागमती प्रदेशका कानुनमन्त्री समेत रहेका श्रेष्ठले भने, ‘तत्कालीन नयाँ शक्ति पार्टीलाई वैकल्पिक शक्तिका रूपमा हामीले विकास गर्न सकेनौँ होला । तर, हामीले दिएको विचार सही रहेछ भन्ने कुरा अहिलेको नतिजाले देखाएको छ ।’
अहिलेको नतिजाले वैकल्पिक शक्तिको अभियानमा पनि डा. भट्टराईलाई जनताले पुरानै माओवादीको रूपमा हेरेको हुनसक्ने उनको भनाइ छ । उनले भने, ‘यो कति ठिक कति बेठिक भन्ने कुरा त समयले पर्गेल्दै लैजाला । तर, डा. भट्टराईप्रति जनतामा हिजोको माओवादी भन्ने खालको बुझाइ देखियो ।’
नेता श्रेष्ठले नेसपा र माओवादी केन्द्रबीच निकट भविष्यमा एकता हुनसक्ने समेत बताए । दुई पार्टीबीच वार्ता समिति बनाएर पटक–पटक वार्ता गरी लिखित रूपमा डकुमेन्ट आदानप्रदान गर्ने काम समेत भइसकेको भन्दै उनले नेसपा र माओवादी केन्द्रलगायत अरू समाजवादी धारका पार्टीहरूबीच ढिलोचाँडो समाजवादी मोर्चा पनि बन्ने र पार्टी एकता पनि हुँदै जाने बताए ।