News Griha :: न्यूजगृह
कोशी प्रदेशका मुख्यमन्त्री भन्छन्–अब प्रदेशको नाम परिवर्तन हुँदैन

ओखलढुङ्गा— कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नाम परिवर्तन नहुने बताएका छन् ।

नयाँ योजना शिलान्यास र सम्पन्न भएका आयोजना हस्तान्तरण तथा उद्घाटनका लागि ओखलढुङ्गा आएका मुख्यमन्त्री कार्कीले रुम्जाटारमा आज आयोजित कार्यक्रममा कोशी नाम सर्वस्वीकार्य नाम भएकाले तत्काल प्रदेशको नाम परिवर्तन नहुने बताए ।

लामो समय नामविहीन प्रदेशमा आफू मुख्यमन्त्री भएपछि ९० प्रतिशत सांसदको बहुमतले कोशी नाम पारित गरेको बताउँदै उनले तत्काल नाम संशोधनका विषयमा छलफलसमेत नहुने बताए । नामको विषय छाडेर प्रदेशको समृद्धिमा लाग्न उनले आग्रह गरे ।

‘कोशी सबैको सभ्यता र पहिचानसँग मात्रै होइन मानव जीवनसँग पनि जोडिएको नाम हो । ९० प्रतिशतभन्दा बढी सांसदले पारित गरिसकेको यो नाम अब परिवर्तन त होइन नामका विषयमा छलफलसमेत हुँदैन’,उनले भने,‘हिजो नाम भएन भन्नेहरू आज नाम मन परेन भनेर आन्दोलन गर्दैछन्, यस्तो बाटोमा हिँडेर गन्तव्यमा पुगिन्न । बरु प्रदेश कसरी समृद्ध बन्छ त्यो सुझाव दिनुस् ।’

देशमा राजनीतिक स्थायित्व नहुँदा नेपालीहरूले दुःख पाएको बताउँदै उनले अब राजनीतिक स्थायित्व र आर्थिक समृद्धिमा लाग्नुपर्ने बताए ।

गत फागुन १७ गते प्रदेश सभाबाट प्रदेशको नाम कोशी प्रदेश राखिएको थियो । पहिचानका आधारमा प्रदेशको नाम राख्नुपर्ने मागसहित पहिचानवादी दल र संस्थाहरूले प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समिति गठन गरेर आन्दोलन गरिरहेका छन् ।

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  २०:०६
Weather Update