
काठमाडौं— नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको विश्वास गुमाइसकेको टिप्पणी गरेका छन् । राजनीतिमा विचित्रको ‘लीला’ देखाउन थालेकाले प्रधानमन्त्री प्रचण्डलाई नेपाली जनताले अब विश्वास गर्ने ठाउँ नरहेको वैद्यको भनाइ छ ।
इच्छुक सांस्कृतिक प्रतिष्ठानले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव वैद्यले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई खत्तम पार्छु भनेर लाग्ने, फेरि ओलीको शरणमा परेर सरकार बनाउने तर टिकाउन नसकेर प्रधानमन्त्री प्रचण्डले जनतामा केही हुन्छ कि भन्ने विश्वासलाई पनि ध्वस्त पारिदिएको आरोप लगाए ।
उनले कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकालगायतका सत्ता र त्यसका अवयवहरू ‘मरेको लास’ जस्तै अवस्थामा पुगेको उल्लेख गर्दै नयाँ राज्य सत्ता निर्माणका लागि तयार रहन पनि पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।
उनले भने,‘यो सत्ता र यसका अवयवहरूलाई पूरै फ्याँक्नुपर्छ । कार्यपालिका पनि असफल, न्यायपालिका पनि असफल, व्यवस्थापिका पनि असफल भएको देख्यौ नि हामीले । सबै असफल छन् । कांग्रेस त असफल नै हो । पुरानो सत्ता र व्यवस्थालाई चलाउन भनेर कम्युनिस्ट आन्दोलनको नेताहरू भनौ कि गद्दारहरु भनौं । थाम्न भनेर गए । त्यो पुरानो व्यवस्थालाई काँध थाप्न थाले । काँध थापेर के गर्ने त्यो गन्हाएर बसेको लास जस्तैलाई काँध थापेर के गर्ने ? सक्ने अवस्थामा छैन अब त्यो काँध थापेर । यो व्यवस्था सिद्धिएर जाने प्रक्रियामा छ । त्यस कारणले हामीले एउटा सशक्त तयारी गरेर जानुपर्छ ।’
जनतामा केही हुन्छ कि भन्ने विश्वास पनि पूरै ध्वस्त भएको महासचिव वैद्यको टिप्पणी छ । उनले भने, ‘भोट कसलाई दिने ल भन्नुस् त ? एउटा पार्टीलाई दिने हो । यो गर्छु, यो गर्छु भन्ने त चाहियो । वाचा गर्नुपर्यो । चुनावमा जाने बेलामा गठबन्धन बनाए । प्रतिगमनविरुद्ध जाने हो । संविधानको रक्षा गर्ने हो, ओलीले खत्तम पारे भनेर कांग्रेस–माओवादी केन्द्रहरू एकदम कुर्लिएर गए । अब सरकार बनाउने बेलामा त छैन । सरकार बनाउने बेलामा त जसकाविरुद्ध गएका थिए त्यसैसँग शरण परेर सरकार बनाउने ? यहाँ भन्दा विचित्र के हुन्छ ? त्यो सरकार त टिकाउनुपर्ने हो नि त फेरि एमालेसँग बसेर । त्यो पनि टिकाउन नसकेर फेरि फर्केर कांग्रेसतिर । ल हर्नुस । राजनीतिक विचित्रता भन्ने कि के भन्ने यो । राजनीतिमा लीला भइसक्यो भन्नुस । यस्तो चालले अव चल्नेवाला छैन । जनताले विश्वास पनि अब गर्ने छैनन् ।’
महासचिव वैद्यले वर्तमान राज्यसत्ता संचालनका लागि कांग्रेस असफल भइसकेको र कम्युनिस्ट नेताहरूलाई पनि जनताले विश्वास गर्ने अवस्था नरहेकाले नयाँ राज्य व्यवस्था स्थापना गर्ने बलियो आधार बन्दै गएको बताए । उनले मुलुकमा आर्थिक संकट चुलिएको र त्यसलाई टालटुल पारेर अघि बढने अवस्था नरहेको समेत बताए ।













