
काठमाडौं— नेकपा एमालेको जारी केन्द्रीय कमिटीको पहिलो दिनको बैठक सम्पन्न भएको छ ।
एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले पहिलो दिन चार निकाय र नौ प्रदेश कमिटी (दुई गैरभौगोलिक) ले ‘मिसन ग्रासरुट’ अभियानको समीक्षा प्रतिवेदन पेस गरेको जानकारी दिए । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।
केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहरा, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, लेखा आयोगका अध्यक्ष डा.पुष्प कँडेल र निर्वाचन आयोगका अध्यक्ष डा.विजय सुब्बाले प्रतिवेदन पेस गरे ।
यस्तै, अभियानको समीक्षा प्रतिवेदन अभियानमा खटिएका नेताहरूले पेस गरे । कोशी प्रदेशको राजेन्द्र गौतम, मधेस प्रदेश सचिव रघुवीर महासेठ, बाग्मती प्रदेशको सचिव गोकर्ण विष्ट, गण्डकी प्रदेश सचिव पद्मा अर्याल, लुम्बनी प्रदेश सचिव छविलाल विश्वकर्मा, कर्णाली प्रदेश सचिव योगेश भट्टराई र सुदूरपश्चिम प्रदेशको सचिव लेखराज भट्टले अभियानको समीक्षा प्रतिवेदन पेस गरे ।
यस्तै उपत्यका विशेष प्रदेशको समीक्षा प्रतिवेदन पोलिटब्यूरो सदस्य सुजिता शाक्य र सम्पर्क समन्वय समितिको प्रतिवेदन स्थायी कमिटी सदस्य लालबाबु पण्डितले प्रस्तुत गरे ।
बिहीबार पेस गरिएका प्रतिवेदनमाथि शुक्रबार बिहान ८ देखि १२ बजेसम्म ८ समूहमा छलफल हुने छ । सोही समूहले निकालेको निष्कर्षलाई आधार मानेर प्रदेश कमिटी अध्यक्षले वार्षिक कार्ययोजना प्रस्तुत गर्ने नेता गुरुङले जानकारी दिए ।
शुक्रबार नै स्थायी कमिटी बैठकले समीक्षा प्रतिवेदनलाई आधार बनाएर वार्षिक कार्यक्रम बनाइने उनको भनाइ थियो ।













