काठमाडौं— शिवानी एअरका विद्यार्थीहरूबाट पैसा उठाएर अमेरिका भागेको आरोप लागेका शिवेन्द्रबहादुर बस्नेत अहिले आफ्नो भागको सम्पत्तिको दाबी गर्दै नेपाल आएका छन् । शरणार्थीको हैसियतमा अमेरिकी नागरिकता लिएर त्यतै बस्दै आएका शिवेन्द्रले बुद्ध एअरमा आफ्नो हिस्साको ४० प्रतिशत शेयर रहेको दाबी गरेका छन् ।
शिवेन्द्र तिनै व्यक्ति हुन्, जसलाई कुनै बेला नेपालमा पाइलट बनाइदिन्छु भन्दै २ दर्जनभन्दा बढी विद्यार्थीहरूबाट पैसा लिएर फरार भएको आरोप लागेको थियो । विद्यार्थीको पैसा खाएको आरोप लागेका शिवेन्द्र तत्कालीन समयमा गुपचुप तरिकाले अमेरिका हानिएका थिए । र, त्यहाँ उनले शरणार्थीको हैसियतमा अमेरिकी नागरिकता प्राप्त गरेका थिए । यो करिब १० वर्ष अगाडिको कुरा हो ।
‘शिवेन्द्रले पाइलटसम्बन्धी तालिम दिनेगरी स्थापना गरेको शिवानी एअरले तत्कालीन समयमा विद्यार्थीहरूबाट ३० लाख रुपैयाँसम्म लिएको थियो,’ तत्कालीन समयमा शिवानी एअरमा ट्रेनिङ लिएका एक विद्यार्थीले भने, ‘तर, जुन हिसाबले पाइलटसम्बन्धी तालिम दिने दाबी गरिएको थियो, त्यो केही पनि भएन । पछि त यसका सञ्चालक नै फरार भएपछि तालिममा सहभागीहरू समस्यामा परेका थियौँ ।’
सन् २००६ मा स्थापना भएको ‘शिवानी फ्लाइङ स्कुल’ले भरतपुर विमानस्थललाई आधार बनाएर तालिम सञ्चालन गरेको थियो । तत्कालीन समयमा करिब २ दर्जन विद्यार्थीहरूले ३० लाख रुपैयाँसम्म तिरेर तालिम लिएका थिए । विद्यार्थीहरूबाट संकलित करिब ७ करोड ५० लाख रुपैयाँ शिवेन्द्रले अपचलन गरेर फरार भएको उनीमाथि आरोप छ ।
शिवेन्द्रले भने तत्कालीन समयमा आर्थिक रूपमा समस्या देखिएपछि आफूले थेग्न नसकेका कारण अर्का व्यवसायी मणिरन्द्रलाल रञ्जितकारलाई कम्पनी बेचेको बताएका छन् । ‘मैले तिनुपर्ने सबै बैंक वित्तीय संस्थाको रकम, व्यक्तिगत रकम र तीनवटा जहाजसहित कम्पनीको स्वामित्वमा रहेको सबै सम्पत्ति मैले रञ्जितकारलाई बेचेको हुँ,’ शिवेन्द्रले भने, ‘तत्कालीन समयमा नै मैले कागज गरेर सबै हिसाबकिताब मिलान पनि गरेको हुँ ।’ शिवेन्द्रले २००९ मा आफूले सो कम्पनी बेचेको दाबी गरेका छन् ।
शिवेन्द्रले शिवानी एअरबाट हात निकालेपछि मणिरन्द्रलाल रञ्जितकारलाई प्रहरीले ठगी गरेको भन्दै पक्राउ समेत गरेको थियो । १६ असोज २०६७ मा रञ्जितकारलाई प्रहरीले काठमाडौंको जैसीदेवलबाट पक्राउ गरेको थियो । तत्कालीन समयमा उनीमाथि शिवानी एअरको तर्फबाट पाइलट बनाइदिन्छौँ भन्दै विद्यार्थीबाट पैसा असुलेको आरोप लागेको थियो । यतिबेलासम्म शिवेन्द्र नेपाल छाडेर अमेरिका गइसकेका थिए ।
पछि शिवानी एअर ‘बैंकरप्ट’ भयो । शिवानीले भरतपुर विमानस्थलमा निर्माण गरेको ‘ह्याङ्गर’ र सो ह्याङ्गरमा राखिएको ३ थान वायुयानको भाडा नबुझाएको भन्दै नागरिक उड्ययन प्राधिकरणले पटकपटक ताकेता गर्दा पनि कम्पनीले भाडा बुझाउन सकेको थिएन । सञ्चालकहरूको नाममा पटकपटक सार्वजनिक सूचना र पत्र पठाएर भाडा बुझाउन आग्रह गर्दा पनि प्राधिकरणलाई बक्यौता नबुझाएपछि अहिले शिवानी एअर ‘सिज’ अवस्थामा छ । ‘त्यो मेरो चासोको विषय नै होइन । मैले बेचिसकेको कम्पनी भएकोले त्यससँग जोडिएका इस्यूहरू अहिले आएर मेरो नामसँग जोड्नु उचित हुँदैन,’ शिवेन्द्रले भने ।
त्यस्तै माउन्टेन एअरको हिसाबकिताबमा पनि घोटाला गरेको आरोप शिवेन्द्रमाथि छ । उनले विभिन्न बैंकहरूमा कम्पनीको नाममा लिएको १५ करोडभन्दा बढी रकम नतिरेका कारण तत्कालीन समयमा कालोसूचीमा समेत परेका थिए । ‘अहिले कुनै बैंकको कालोसूचीमा मेरो नाम उल्लेख छैन,’ शिवेन्द्रले दाबी गरे ।
किन दिएनन् सुरेन्द्रले शिवेन्द्रको नाममा बुद्ध एअरको शेयर ?
बुद्ध एअरका सञ्चालक सुरेन्द्रबहादुर बस्नेतका कान्छा छोरा शिवेन्द्रले हाल आफ्नो परिवारको भागमा पर्ने बुद्ध एअरको शेयर आफूले पाउनुपर्ने माग राख्दै दाइ वीरेन्द्रबहादुर बस्नेत लक्षित दबाब बढाएका छन् ।
शिवेन्द्रले बुद्ध एअरमा आफ्नो ४० प्रतिशत स्वामित्व रहेको दाबी गर्दै बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरे । उनले आफ्नो भनेर दाबी गरेपनि उनको व्यक्तिगत नाममा भने बुद्ध एअरको शेयर ‘ट्रान्सफर’ भएको छैन । शिवेन्द्रकी श्रीमती अर्चना बस्नेत र उनका नाबालिग २ छोराछोरीको नाममा बुद्ध एअरको ४० प्रतिशत शेयर बुवा सुरेन्द्रबहादुर बस्नेतमार्फत ‘ट्रान्सफर’ भएको देखिन्छ ।
पारिवारिक स्रोतलाई आधार मान्ने हो भने शिवेन्द्र बस्नेतको व्यक्तिगत शैली र विवाहेत्तर सम्बन्ध नै यसको मूल कारण हो । यतिसम्म कि शिवेन्द्रले आफ्नो भागमा परेको पुख्र्यौली सम्पत्ति पनि बेचेर सकेका थिए । त्यसैकारण उनका बुवा सुरेन्द्रबहादुर बस्नेतले शिवेन्द्रलाई बुद्ध एअरको शेयर ट्रान्सफर नगरी उनकी श्रीमती र छोराछोरीको नाममा शेयर दिएका थिए ।
शिवेन्द्रले आफ्नो भनेर दाबी गरेपनि बुद्ध एअरको शेयर उनको नाममा अझै ट्रान्सफर भएको छैन ।
शिवेन्द्रलाई विपक्षी बनाउँदै कुनैबेला उनकै सहयोगीको रूपमा काम गरेकी बबी रायमाझीले ललितपुर जिल्ला अदालतमा अंश मुद्दा हालेकी छन् । माउन्टेन एअरको सञ्चालकसमेत रहेका शिवेन्द्रले तत्कालीन समयमा सोही कम्पनीमा कार्यरत एअरहोस्टेस रायमाझीसँग विवाहेत्तर सम्बन्ध राखेको पारिवारिक स्रोतको दाबी छ । ‘उनीहरूबाट १ छोरीको जन्मसमेत भएको छ । तर, शिवेन्द्र अहिलेसम्म बबीसँगको सम्बन्ध र छोरीको विषयमा भाग्दै हिँडेका छन्,’ बस्नेतको पारिवारिक स्रोतले भन्यो, ‘यतिसम्म कि ती बालिकाको नागरिकता बनाउन समेत अहिले समस्या भएको छ ।’
‘यो अदालतमा भएको मुद्दाको विषय हुनाले मैले यसमा धेरै टिप्पणी गर्दिन । तर, व्यक्तिगत रूपमा भन्ने हो भने मलाई जुन आरोप लगाएर मुद्दा हालिएको छ, त्यो सरासर मलाई फसाउने खेल हो,’ शिवेन्द्र दाबी गर्छन् । शिवेन्द्रले आफ्नो चरित्रमाथि प्रश्न उठाएर बुद्ध एअरको सम्पूर्ण शेयर एक्लै हत्याउने आफ्नो दाइको नियत रहेको आरोप समेत लगाए ।
‘मेरो विगत कस्तो थियो भन्ने कुरा तपसिलका कुरा हुन् । यदि मेरो दाइले सक्छ भने मेरो परिवारको नाममा बुद्ध एअरको ४० प्रतिशत शेयर छैन भन्ने कुरा प्रमाणित गरेर देखाओस्, म चुनौती दिन्छु,’ उनले भने, ‘बुवाले ट्रान्सफर गर्ने शेयर मेरो नाममा नआएर परिवारका अन्य सदस्यको नाममा जानु सामान्य प्राविधिक कुरा मात्रै हो । यसमा मैले धेरै कुरा गरिरहनै पर्दैन ।’
शिवेन्द्रले आफूले अहिले परिवारको तर्फबाट बुद्ध एअरसँग आफ्नो हिस्साको भाग खोज्न आएको दाबी गरे । ‘मेरो परिवार बुद्ध एअरको शेयर होल्डर हो । र, शेयर होल्डरको नाताले मैले कम्पनीको हिसाबकिताब माग्न पाउने अधिकार छ,’ शिवेन्द्रले भने, ‘तर, मलाई दाइले हिसाबकिताब दिन मानेन । पक्कै पनि बुद्ध एअरभित्र घोटाला भएको छ भन्ने मेरो शंका छ ।’
के भन्छ बुद्ध एअर ?
शिवेन्द्रले पत्रकार सम्मेलन गरेर विभिन्न आरोप लगाएपछि बुद्ध एअर व्यवस्थापनले प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छ ।
स्वर्गीय सुरेन्द्रबहादुर बस्नेतको नाममा रहेको बुद्ध एअरको ८० प्रतिशत शेयरमध्ये वीरेन्द्रबहादुर बस्नेतको नाममा ४० प्रतिशत र बाँकी ४० प्रतिशत अर्चना बस्नेत, शिवानी बस्नेत, देव्यानी बस्नेतसँगै आदर्शबहादुर बस्नेतको नाममा हुनेगरी विभाजन भएको विज्ञप्तिमा उल्लेख छ ।
सार्वजनिक सूचनामार्फत शेयरधनीको उपस्थितिमा साधारण सभा गर्ने क्रममा समेत अर्चना बस्नेतलगायत शेयर धनी उपस्थित नहुँदा ६५ प्रतिशत शेयरधनीको उपस्थितिमा साधारण सभा गरेको समेत बुद्ध एअरले जनाएको छ । बुद्ध एअर कानुनी रूपमा नियमावली र व्यवस्थाअनुसार सञ्चालन भइरहेको समेत विज्ञप्तिमा उल्लेख छ ।
शेयरधनीमध्ये अर्चना बस्नेत, शिवानी बस्नेत र आदर्शबहादुर बस्नेतलाई पटकपटक पत्र पठाएर जानकारी गराउँदा समेत आर्थिक विवरण लिन नआएको बुद्ध एअरले जनाएको छ । हाल आएर ४० प्रतिशत शेयर रहेको र सोही व्यवस्थाअनुसार समानान्तर एअरलाइन्स कम्पनी खडा गर्नेगरी शिवेन्द्र बोलेको अडिओ आफूहरूसँग सुरक्षित रहेको र सो आपत्तिजनक भएको कम्पनीको दाबी छ ।
साथै कम्पनीले शिवेन्द्रले बुद्ध एअर छोड्दा घाटामा रहेको र २३ वर्षको अनवरत मिहिनेतले सफल व्यवसायिक संस्थाको रूपमा स्थापित भएको उल्लेख गरेको छ । हाल बुद्ध एअरमा १ हजार ५ सय कर्मचारी कार्यरत छन् । र, कम्पनीले राज्यलाई करोडौँ रकम कर तिर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।