
काठमाडौं— सत्तारूढ गठबन्धनका विद्यार्थी संगठनहरूले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन् ।
बिहीबार भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्दै नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी र नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियुले विरोध गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणबारे अनुसन्धान गरी भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै विद्यार्थी संगठनहरूले भृकुटीमण्डप परिसरमा विरोध प्रदर्शन गरेका छन् ।
माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले प्रधानमन्त्री पुष्पकमल दाहालले चलाएको अभियानलाई समर्थन गर्न प्रदर्शन गरेको बताइन् । नेपाली जनतामा भ्रष्टाचार गर्ने ठूला दलका नेताहरू राजनीतिक लेनदेनमा लागेको भन्ने जनताको संशयलाई ठिक ढंगले छानबिन गरी कारबाही गर्न खबरदारी स्वरूप प्रदर्शनमा आएको उनको भनाइ छ । उनले निष्पक्ष छानबिन गरी कारबाही नभएसम्म आन्दोलन जारी रहने बताइन् ।
एकीकृत समाजवादीनिकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भुटानी शरणार्थी प्रकरणमा सरकारले थालेको अभियानलाई ऐक्यवद्धता जनाएको बताए । उनले यो घटनाको कुनैपनि दबाबमा नपरीकन पक्राउ गरी छानबिन गर्न आग्रह गरे ।
सरकारले व्यक्त गरेको साहस र दृढता स्वागतयोग्य रहेको र विगतका सबै भ्रष्टाचारको फाइलहरू खोल्नुपर्ने बताए ।













